राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अध्यक्ष र विज्ञ सदस्यको लागि आवेदन दिएका उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ ।
प्राधिकरणले प्रकाशित गरेको नामावली अनुसार अध्यक्षमा ६ जना र विज्ञ सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ । प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफरिस गर्न गठित समितिले अध्यक्ष र विज्ञ सदस्यको दरखास्त स्वीकृत गरेको जनाएको छ । प्राधिकरणको अध्यक्षका लागि दरखास्त दिएका नारायण प्रसाद पौडेल उपाध्याय, डा. खगराज शर्मा, डा. हरि कुमार नेपाल,परितोष पौड्याल, अनिल राज पौडेल र अर्जुन प्रसाद पोखरेलको नाम समितिले स्वीकृति गरेको हो ।
त्यसैगरी प्राधिकरणको विज्ञ सदस्यहरुमा शहदेव बस्नेत,रमेश प्रसाद चौलागाई, नारायण प्रसाद पौडेल,डा. खगराज शर्मा र डा. रुपा जोशीले दिएको दरखास्त पनि स्वीकृत गरेको छ । प्राधिकरणले जेठ ११ गते गोरखापत्र दैनिकमा १५ दिनको समय सीमा राखेर अध्यक्ष र विज्ञ सदस्यको लागि आवेदन माग गरेको थियो । जेठ २५ गते कार्यालय समयभित्र दर्ता हुन आएका दरखास्त उपर छानविन गर्दा उमेदवारहरुले सहकारी ऐन,२०७४ को दफा १०३ ङ को उफदफा र जेठ ११ गते प्रकाशित सूचनामा उल्लिखित शर्तहरु पुरा गरेको देखिएकाले आवदेकहरुको दरखास्त स्वीकृत गरी नामवली प्रकाशित गरेको प्राधिकरणले जनाएको छ । साथै व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता सम्बन्धी सूचना पछि प्रकाशित गर्ने सिफारिस समितिले जनाएको छ ।
प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य नियुक्तिमा ढिलाई भएपछि सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गर्दै ४५ दिन भित्र दुबै पदमा नियुक्ति गरिसक्न भनेको थियो । कम्जोर नियमनका कारण सदस्यहरुको अबौं बचत अपचलन हुन थालेपछि सरकारले यो क्षेत्रको प्रभावकारी नियमन मार्फत् सदस्यको बचत सुरक्षित गर्ने भन्दै बचत ऋणको मुख्य कारोबार गर्ने संस्थाहरुको नियमनको लागि प्राधिकरण गठन गरेको हो । प्राधिकरणले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन तथा अनुगमन गर्नुका साथै आवश्यक मापदण्ड जारी गरी यो क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने भएको छ । २५ करोड माथि बचत ऋणको मुख्य कारोबार गर्ने संस्थाहरु प्राधिकरणमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

नेपालपत्र संवाददाता