रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्थाले बार्षिक योजना तथा बजेट निर्माण कार्यशाला सम्पन्न भएको छ । संस्थाको हलमा आर्थिक वर्ष २०८२\०८३ का लागि वार्षिक योजना तथा बजेट निर्माण कार्यशाला सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षता र सचिव नारायण बहादुर कार्कीको सञ्चालनमा कार्यशाला सम्पन्न भएको हो।
कार्यक्रममा अध्यक्ष सोमेश थापाले हाल सरकारबाट जारी गरिएको सहकारी ऐन तथा सहकारी नियमक प्राधिकरणबाट प्रकाशित सहकारी मापदण्ड २०८२ सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए । उनले सहकारी क्षेत्रको पारदर्शिता, जवाफदेहिता र सुशासन अभिवृद्धिका लागि नयाँ कानुनी ढाँचाको महत्व बारेमा पनि प्रकाश पारेका थिए ।
सचिव कार्कीले संस्थाको आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले योजनाबद्ध कार्यान्वयन र सदस्य सहभागिताको महत्वमा जोड दिए । कोषाध्यक्ष भिमसेन थापाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै त्यसमा आधारित आवश्यक छलफल गरिएको थियो । बजेट निर्माणमा संस्थाको आर्थिक क्षमता, लक्ष्य र प्राथमिकताहरूलाई ध्यानमा राखिएको जानकारी दिइएको थियो। कार्यक्रममा संस्थाको हालको अवस्था, प्रगति तथा आगामी योजना कार्यान्वयनको पूर्वाधार सम्बन्धमा व्यवस्थापक रमेश उदाशले जानकारी गराएका थिए ।
त्यसैगरी, संस्थाका सल्लाहकार जगन्नाथ दाहालले सहकारी क्षेत्रसँग सम्बन्धित हालका नीतिगत तथा व्यावहारिक पक्षहरूबारे सहभागीहरूलाई जानकारी गरेका थिए । उनले सहकारी संस्थाहरूले अवलम्बन गर्नुपर्ने मूल्यमान्यता र सहकार्यको महत्वमा जोड दिए । कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरू, सल्लाहकारहरू तथा कर्मचारीहरूको उपस्थिति थियो।

नेपालपत्र संवाददाता