बुधबार, भाद्र ३ गते २०८३

गणतन्त्रकाे ब्यापक गुनासाे


जेठ १७, २०८२ शनिबार
गणतन्त्रकाे ब्यापक गुनासाे
राजा निकालेँ दरबारबाट
आफैँ समालेँ अनि राजपाट
झन्झन् ठुलो खाडल पर्न थाल्यो
अस्तित्व मेरो पनि मर्न थाल्यो ।१।
 
यो देश बन्ला अब स्वर्ग जस्तो
बुझ्लान् सबैले गणतन्त्र कस्तो
सम्झेर आएँ दरबार भित्र
छन् अग्रगामी सब इष्टमित्र ।२।
 
बोकेर हिँड्छन् जसले मलाई
गर्लान् यिनैले सबको भलाइ
भन्ने भरोसा पनि टुट्न लाग्यो
देख्दा तमासा मुटु फुट्न लाग्यो ।३।
 
बैरी भए बाहक आज मेरा
घोडा बनाए र बने लुटेरा
नाङ्गो बनाएपछि यो समाज
डुब्दैछु आफैँ गणतन्त्र आज ।४।
 
उल्लास त्यो आगमको सुनौलो
देख्दै थियो सुन्दर रूप नौलो
आशा भरोसा पनि पूर्ण हुन्छन्
अन्याय गर्ने सब चूर्ण हुन्छन् ।५।
 
फालेर एकात्मक राज्यसत्ता
राजै बनेको छ विशाल जत्था
बन्डा मिलाएपछि मोज हुन्छ
देखेर यस्तो गणतन्त्र रुन्छ ।६।
 
टुक्र्याइयो देश छ खण्ड खण्ड
बोक्छन् अनेकौँथरि राजदण्ड
सद्भावनामाथि कुठाराघात
गर्नेहरूको छ ठुलो जमात ।७।
 
हिंसा बलात्कार र जालझेल
षड्यन्त्रका भिन्न अनेक खेल
देख्दा यहाँको गणतन्त्र ताज
पारे लँगौटी अब छोप्न लाज ।८।
 
छैनन् युवा देश छ पूर्ण रित्तो
रुङ्छन् बुढा जीर्ण उदाङ्ग भित्तो
ठेगानमा जीवन छैन फेरि
बाँचिन्न एक्लै गणतन्त्र हेरी ।९।
 
बोक्ने तिनै गोमनको छ हात
लाग्यो मलाई अभियोग बात
डुब्दैछ बेडा र जहाज मेरो
दिक्पालको तोडिनुपर्छ घेरो ।१०।
पनर्प्रकाशित
=========================
गणतन्त्र दिवसको शुभकामना