भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा उपसमितिको आयोजनामा“महिला सशक्तिकरणमा सहकारीको भूमिका“ विषयक गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीको उद्घाटन गर्दै संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्डमा तरलता गणना सम्बन्धी व्यवस्था सच्यानुपर्ने बताए । उनले सहकारीमा नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था रहेको र जोखिम भारित सम्पत्ति जस्ता नयाँ विषयस्तु आएको जानकारी गराए । साथै मापदण्डमा प्राथमिक पुँजीकोष पर्याप्त मात्रामा नभएका सहकारी संस्थाले नाफा भएपनि लाभांश बाड्न नपाइने व्यवस्था गरेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निर्वतमान महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले “महिला सशक्तिकरणमा सहकारीको भूमिका“ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रमकी सभापति एवम् संघकी संचालक सदस्य कृष्णश्वरी मचामसीले सहकारीमा महिलाहरूले के कस्तो भूमिका खेलिरहेका छन् भन्ने भन्ने विषयमा प्रष्ट पारेकी थिइन् ।
उनले सहकारीले महिला सशक्तिकरणको लागि खेलेको भूमिका र अभियानमा महिलाले के भूमिका खेल्नुपर्दछ भन्ने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको बताइन् । महिला सशक्तिकरण उपसमितिका सदस्य निर्जना ढुंगेल दाहालको स्वागत मन्तव्य रहेको कार्यक्रम संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले संचालन गरेकी थिइन् । सो कार्यक्रममा ६१ जनाको उपस्थिति रहेको थियो ।
नेपालपत्र संवाददाता