भक्तपुर, सहकारी क्षेत्रलाई धराशायी बनाउने गरी लागू गरिएका मापदण्ड तत्काल परिमार्जन गर्नुपर्ने माग उठ्न थालेकाे छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा सम्पन्न दुईदिने पूँजी कोष पर्याप्तता (सीएआर) र पर्ल्स अनुगमन प्रणालीसम्बन्धी तालिम कार्यक्रममा बोल्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी ऐनले स्वीकृत गरेको बचत संकलन र ऋण लगानीको अधिकारमा सीमाबद्ध रहँदै सहकारी संस्थाहरूले कार्य गर्दै आएको बताए।
नियमनकारी निकायहरूबाट जारी पछिल्ला मापदण्ड तथा निर्देशनले सहकारीको प्राथमिक कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै तत्काल परिमार्जन आवश्यक रहेको उनले स्पष्ट पारे। तरलता सम्बन्धी वर्तमान व्यवस्था व्यवहारिक नभएको र यथास्थितिमा कानुनी उपचारको बाटो रोज्न बाध्य हुने लाखाजुले चेतावनी दिए।
बैंक तथा वित्तीय संस्थालाई पोषणका निम्ति बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारी संघ तथा संस्थाहरुको बृद्धि विकासमा संकुचन हुने गरी मापदण्डहरु जारी भएको उनको धारणा थियो । सहकारीका सदस्यको बचत सुरक्षा तथा जोखिम न्युनिकरणका मापदण्डहरु पालना गरी संस्था सुरक्षित राख्न कर्मचारीहरुले सदैब नयाँ ज्ञान सिप सिक्नका लागि जागरुक हुनुपर्ने उनले जनाए ।
त्यसैगरी संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारीलाई बैंकको रूपमा हेर्ने दृष्टिकोण नै गलत भएको बताए। ‘सहकारीको विशेषता बुझ्दै, वर्गीकरणको आधारमा मात्र नियमन गरिनुपर्छ,’ उनले भने। सहकारी समस्याको समाधान निर्देशनपत्र र मापदण्डबाट मात्र सम्भव नभई व्यवहारिक र प्रगतिशील कानुनको आवश्यकता रहेको उनले उल्लेख गरे।
संघका कोषाध्यक्ष कान्छा भक्त घजु तथा प्रशिक्षक बल्लभ तिमल्सिना र उमेश कोईरालाले पूँजी कोष पर्याप्तता र पर्ल्स प्रणाली सहकारी संस्थाको वित्तीय जोखिम मूल्यांकनका लागि महत्त्वपूर्ण रहेको बताए। तर यसको कार्यान्वयन गर्दा संस्थाको कार्यक्षेत्र र संरचना अनुसार लचिलो र सान्दर्भिक मापदण्ड आवश्यक रहेको उनीहरूको भनाइ थियो।
तालिममा सहभागी ३८ जना विभिन्न सहकारी पदाधिकारी, व्यवस्थापक र लेखा कर्मचारीहरूले आवश्यक विषयमा प्रयोगात्मक सिकाई भएको भन्दै सन्तुष्टि जनाएका थिए ।
नेपालपत्र संवाददाता