राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अध्यक्ष र विज्ञ सञ्चालक नियुक्त लागि आवेदन माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै अध्यक्ष र विज्ञ सञ्चालकको लागि दरखास्त आव्हान गरेको हो ।
सर्वोच्च अदालतले बैशाख २८ गते सरकारको नाममा परमादेश जारी गर्दै ७ दिन भित्र सिफारिस समिति गठन गर्न र ४५ दिनभित्र अध्यक्ष र विज्ञ सञ्चालक नियुक्त गर्न भनेको थियो । सोही अनुसार प्राधिकरणले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदारलाई १५ दिनभित्र दरखास्त दिन भनेको छ । सहकारी ऐन २०७४ को दफा १०३ (ङ) बमोजिम सिफारिस समितिले प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको नियुक्तीका लागि सरकार समक्ष सिफारिस गर्नुपर्ने भएकाले योग्यता पुगेका व्यक्तिहरुबाट आवेदन माग गरिएको हो ।
प्राधिकरणको अध्यक्ष पदको लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको हुनुका साथै नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको, वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा कम्तीमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। यस्तै, विज्ञ सदस्यको पदका लागि पनि स्नातकोत्तर तहको शैक्षिक योग्यता अनिवार्य गरिएको छ। साथै, उम्मेदवारले अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ। ऐनमा सरकारले सहकारी प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि ३ सदस्यीय सिफारिस समितिको व्यवस्था छ ।

नेपालपत्र संवाददाता