आइतबार, आश्विन १८ गते २०८३

चर्किँदै भारत–पाक युद्ध, यी हुन सक्छन् सम्भावित ३ कदम


बैशाख २६, २०८२ शुक्रबार
चर्किँदै भारत–पाक युद्ध, यी हुन सक्छन् सम्भावित ३ कदम

 

काठमाण्डौ । कश्मिरको पहलगाममा २२ अप्रिल २०२५ मा भारतीय नागरिकमाथि भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गयो । त्यसको ठीक १५ दिनपछि, भारतले पाकिस्तान प्रशासित कश्मीरमा ‘अपरेशन सिन्दूर’ नामक लक्षित हवाई कारवाही सुरु गर्‍यो।

७ मेमा गरिएको सो कारबाहीमा भारतीय पक्षले आतंकवादी लन्चप्याड, प्रशिक्षण केन्द्र र कमाण्ड पोस्टहरू ध्वस्त पारेको दाबी गरेको छ। पाकिस्तानले भारतको कदमलाई सार्वभौसत्तामाथिको आक्रमण भएको जनायो ।  

८ मे का दिन पाकिस्तानले भारतीय सैन्य चौकीहरूमा प्रतिआक्रमण गर्दै सीमापार गोलाबारी गर्‍यो भने राति सीमानजिकका भारतीय ईलाकामा ड्रोन हमला ग¥यो । त्यसको प्रतिकारमा भारतीय पक्षले एन्टिएयरक्राफ्टले फायर गरी आक्रमणलाई निस्तेज पारेको जनाएको छ । यद्यपि यस बीचमा भारत र पाकिस्तान दुवैतर्फ धनजनको क्षति पुगेको छ । दक्षिण एशियाली क्षेत्रमा युद्धको बादल मडारिएको परिदृष्य देखिन्छ । 

सैन्य रणनीतिका जानकारहरु भारत–पाकिस्तानबीचको तनाव यतिबेला तीन सम्भावित दिशातर्फ जान सक्ने संकेत गर्दछन् ।  पहिलो, सीमित युद्ध — जसमा सीमा क्षेत्रमा गोलीबारी गर्नुका साथै सीमित ईलाकामा हवाई कारबाही केहि दिनका लागि चल्नेछ । दोस्रो, दुई देशबीचको युद्ध असामान्य बन्न सक्छ । यसक्रममा ड्रोन हमला, साइबर एट्याक र प्रोक्सी वारको श्रृंखला चल्ने सम्भावना रहन्छ ।  तेस्रो, विस्तारित क्षेत्रीय युद्धको सम्भावना रहेको छ। युद्ध विस्तार हुँदै गएर हवाई, स्थल तथा नौसैनिक सबै मोर्चामा फैलन सक्ने खतरा रहनेछ।

विशेषगरी, पाकिस्तानले आणविक हतियार सक्रिय गर्न सक्ने चेतावनी दिएको छ भने भारतले पश्चिमी सीमामा इन्टिग्रेटेड ब्याटल ग्रुपहरू तैनाथ गर्दै लगेको छ । दुवै राष्ट्र आणविक शक्तिसम्पन्न भएकाले दुई मध्ये कसैले त्यसको प्रयोग गरे कस्तो विध्वंश मच्चिनेछ भन्ने अनुमान गर्न सकिँदैन । 

भारतले हतियारबन्द युद्ध सँगसँगै तीन तहमा रणनीति केन्द्रित गर्ने सम्भावना रहेको छ । पहिलो, आतंकविरुद्धको कठोर छवि निर्माण गर्ने जसका लागि मुलुकभित्र राजनीतिक सुदृढीकरण र बाहिर कूटनीतिक प्रतिष्ठा कायम गर्न उसले खोज्नेछ । 

दोस्रो, डाटा र प्रमाणसहित पाकिस्तानलाई अन्तर्राष्ट्रिय रुपमा एक्ल्याउन भारतले मनि लाउण्डरिङ सम्बन्धी अन्तर्राष्ट्रि संस्था, संयुक्त राष्ट्र संघ सुरक्षा परिषद लगायतका निकायमा दबाब सिर्जना गर्ने रणनीति अपनाउन सक्छ।

तेस्रो, आतंकवादी वित्त, हवाला र साइबर संरचनामाथि नियन्त्रित आक्रमण, अनि अफगानिस्तान, इरान, नेपालजस्ता छिमेकीसँग सुरक्षा साझेदारी बलियो पार्ने तर्फ ध्यान दिनेछ ।

भारतले आन्तरिक रूपमा पनि जम्मु–कश्मीर लगायत सीमावर्ती राज्यहरूमा जनसंपर्क अभियान र सुदृढ सूचना सञ्जाल निर्माणमार्फत राष्ट्रिय एकताको सन्देश दिन खोजेको देखिन्छ।

भारत–पाकिस्तानबीचको यो संघर्ष तत्कालीन रूपमा सीमित देखिए पनि सैन्य र कूटनीतिक तवरमा यसले दीर्घकालीन स्वरूप लिने सम्भावना प्रबल देखिन्छ। भारतको प्राथमिकता युद्ध होइन र आतंकवादलाई जडैदेखि समाप्त पार्नु हो भने अन्तर्राष्ट्रिय समर्थनसहित रणनीतिक कदमहरु चाल्नु उपयुक्त हुने सुझाव जानकारहरुको छ।