भारत र पाकिस्तानबीचको सैन्य तनाव चर्किएपछि नेपालगन्जको जमुनाहा नाकामा नेपाल र भारत दुबै देशका सुरक्षा निकायहरूले सुरक्षा सतर्कता कडा पारेका छन्। सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका अनुसार अब नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकहरूलाई अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ। परिचय खुल्ने कागजात नभएका व्यक्तिहरूको सोधपुछपछि मात्र प्रवेश दिइँदैछ भने हरेक व्यक्तिमाथि निगरानी कडा बनाइएको छ।
यसैबीच, भारतीय सुरक्षा निकाय एसएसबीले पनि रुपैडिहा नाकामा परिचयपत्र अनिवार्य गर्दै तालिमप्राप्त सुरक्षाकर्मी र कुकुरमार्फत चेकजाँच सुरु गरेको छ। नेपाल–भारत सुरक्षा बलहरूले सीमाक्षेत्रमा संयुक्त र एकल गस्ती तीव्र पारेका छन्। यता, भारतबाट स्वदेश फर्किने नेपालीहरूको सङ्ख्या समेत दिनप्रतिदिन बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ।
नेपालपत्र संवाददाता