शनिबार, आश्विन १७ गते २०८३

सहारा नेपाल साकोसले पिछडिएका सदस्यका छोराछोरीलाई डक्टर पढाउने

कार्तिक ७, २०७८ आइतबार
सहारा नेपाल साकोसले पिछडिएका सदस्यका छोराछोरीलाई डक्टर पढाउने

झापाको तिनपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्र बसोबास गर्ने लोपोन्मुख र अति पिछडिएका सदस्यका छोराछोरीलाई डाक्टर पढाउने भएको छ । संस्थाले आगामी बार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित गर्ने जनाएको छ ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको कात्तिक २७ गते हुनलागेको साधारणसभाबाट सो प्रस्ताव पारित गरिने जानकारी दिए। संस्थाले कार्यक्षेत्र झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर र इलामका साथै थप तीन जिल्लामा कार्यक्षेत्र विस्तार गरी उक्त कार्यक्रम संचालन गर्ने भएको हो ।

संस्थाको कार्यक्षेत्रमा रहेका मुसहर, सन्थाल, लेप्चा, किसान, गन्धर्व लगायत लोपोन्मुख जातिहरुको बसोबास रहेकोले उक्त कार्यक्रम संचालन गर्न लागिएको जनाइएको छ । ती समुदायका अभिभावकहरु संस्थाको सदस्य बनेको अवस्थामा तथा उनका सन्तानले एमबीबीएस पढ्न चाहिने योग्यता पूरा गरेमा यस्तो अवसर प्रदान गर्न साधारणसभामा प्रस्ताव लैजाने र उनीहरुलाई एमबीबीएससम्म अध्ययनको लागि छात्रवृद्धि प्रदान गर्ने योजना बनाइएको प्रमुख गिरीले बताए ।