नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले सहकारीका व्यवस्थापनले सदस्यको बचतको सुरक्षामा ध्यान दिनुपर्ने बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस सिईओ गोष्ठीमा ‘संस्थागत सुशासनको अवधारणा,मापदण्ड र प्रयोग’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले व्यवस्थापनले सदस्यको बचतको सुरक्षाको सुनिश्चितता गर्न सक्नुपर्नेमा जोड दिए ।
सहकारीका व्यवस्थापनले बचतको सुरक्षा र सञ्चालकले सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा ध्यान दिनुपर्ने उनको भनाई छ । सहकारीमा सदस्य बनेका ६० प्रतिशत सदस्यले मासिक नियमित बचत गरे समुदायका लागि संस्था आवश्यक भएको प्रमाणित हुने सिईओ सापकोटाले बताए । त्यसका साथै सदस्यका छोराछोरी बाल बचतकर्ता भएर बचत गर्नुका साथै ऋण लिने सदस्यको संख्या धेरै हुँदा संस्थाको आवश्यकता थप पुष्टी गर्ने उनको भनाई छ । सहकारीलाई सुशासनमा सञ्चालन गर्न आन्तरिक कार्यविधि महत्वपूर्ण हुने र बोलेर भन्दा लेखेका कुराले सुशासनमा सञ्चालन गर्न सघाउने उनको दावी छ । सहकारीमा गुड गभर्नेस भइ नसकेको र सबै कुरा लिखित भए काम गर्न सजिलो हुने उनले जनाए । सहकारी बैंक भन्दा राम्रो भएको र नियमन प्रभावकारी बनाउन उनको आग्रह छ ।
सहकारीमा ऋण लिन सदस्य बनानउने गरेको र अहिलेको समस्या नै ऋण असुली रहको उनको भनाई छ । सदस्यलाई पटक पटक सम्झाएर ऋण दिन उनको सुझाव छ । संस्थाबाट ऋण लिएर आर्य आर्जन वृद्धि भएको छ कि छैन,त्यसमा ध्यान दिन र ठुलो भन्दा सानो ऋण लगानीमा प्राथमिकता दिनु पर्नेमा उनको जोड छ । संस्थाका व्यवस्थापकहरुले ६६ प्रतिशत समय अफिसमा नभई फिल्डमा बिताउनु पर्नेमा सिईओ सापकोटाको जोड छ । संस्थाको संख्या, धेरै सहकारी ऐन, सुशासनको अभाव,निस्कृय लेखा समिति,दक्ष जनशक्तिको अभाव,भरपर्दो प्रविधिको अभाव, सदस्य केन्द्रियताको अभाव नै अहिलेको समस्या भएको उनको भनाई छ । अहिले सहकारीमा ऋण लगानी नभएर गरेको ऋण असुली नभएर समस्या भएको सापकोटाले जनाए । प्रमाणीकरण कार्यक्रममा आवद्ध संस्थाहरुको मात्र गुड गभर्नेन्स मापन गर्न सकिने उनले जनाए । संस्थाहरुलाई सुशासनको फ्रेमवर्क बनाउन उनको सुझाव छ ।
नेपालपत्र संवाददाता