नेपाल राष्ट्र बैंकले ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१’ जारी गरेको छ । मापदण्डमा गरिएको व्यवस्था अनुसार सहकारी संस्थाले प्रति सदस्य प्राथमिक पुँजीको अधिकतम १५ बढी रकम ऋण प्रवाह गर्न सक्ने छैनन्।
त्यसैगरी संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको पाँच गुणा वा बढीमा रु. पाँच लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकममात्र बिना धितो ऋण प्रवाह गर्न सक्नेछन् । त्यस्तो बिना धितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरुको जमानी लिनु पर्नेछ । संस्थाले सदस्यता लिएको न्यूनतम तीन महिना पुगेका सदस्यहरुलाई ऋण लगानी गर्न पाउने छन् ।
संस्था स्वयंले भने बैंक तथा वित्तीय संस्था र सहकारी बैंकबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशतसम्म ऋण लिन सक्ने छ तर यसरी ऋण लिँदा पुँजीकोषको शतप्रतिशत भन्दा बढी ऋण लिन पाइने छैन ।
तर ५१ प्रतिशत वा सोभन्दा बढी लगानी सामूहिक जमानीमा गर्ने सहकारी संस्थाको हकमा कुल सम्पत्तिको २० प्रतिशत वा पुँजी कोषको १० गुणासम्म (जुन कम हुन्छ त्यो सीमासम्म) ऋण लिन सक्ने निर्देशनमा उल्लेख छ।
नेपालपत्र संवाददाता