आइतबार, कार्तिक ९ गते २०८३

सहकारी प्राधिकरण राष्ट्र बैंकको शाखा जस्तै देखियोः अध्यक्ष सापकोटा


चैत्र २२, २०८१ शुक्रबार
सहकारी प्राधिकरण राष्ट्र बैंकको शाखा जस्तै देखियोः अध्यक्ष  सापकोटा

।बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटाले सहकारी प्राधिकरण राष्ट्र बैंकको शाखा जस्तो भएको  बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस सिईओ गोष्ठीमा बोल्दै उनले सहकारी प्राधिकरण स्वायत्तता र स्वतन्त्रता भनिए पनि राष्ट्र बैंकले जारी गरेका निर्देशन लागु गर्ने निकाय जस्तो भएको जनाए । उनले राष्ट्र बैंकले सहकारी ऐन विपरित गएर बचत तथा ऋण सहकारी संस्थालाई मापदण्ड र निर्देशन ल्याउनु गलत भएको उल्लेख गरे ।

राष्ट्र बैंकले सहकारीको नियमन गरे  यसको स्वतन्त्रता र स्वायत्तता हराउने उनको भनाई छ । राष्ट्र बैंकले जारी गरेको मापदण्डले प्रारम्भिक सहकारी संस्था सञ्चालन गर्न समस्या हुने उनको दावी छ । प्राधिकरणले राष्ट्र बैंकले जे जे भने पनि मान्नु गलत भएको सापकोटाको भनाई छ । सहकारी अभियानले दोस्रो तहको नियामक निकाय गठनको माग गरेको र त्यसैमा राज्यले खेल्ने मौका पाएको उनले सुनाए । बागमती प्रदेशमा १० हजार सहकारी संस्था रहेको जानकारी दिँदै अध्यक्ष सापकोटाले कुल सहकारीको १.५ प्रतिशत संस्थामा मात्र समस्या रहेको जनाए ।  केन्द्रीय संघहरुले तल्लो तहका सहकारी संस्थालाई समेट्न नसक्ने हुँदा जिल्ला र प्रदेश सहकारी संघहरुले स्थानीय तहमा रहेका संस्थाहरुलाई  समेटेर सबल बनाउने काम गरेको उल्लेख गरे । जिल्ला र प्रदेश संघहरुको कारण सहकारीमा समस्या नआएको भन्दै संघहरुले संस्थाहरुलाई सबल बनाउन लागि परेको उल्लेख गरे ।

ललितपुर बचत संघले सदस्य संस्थाहरुको विकास र प्रवर्दनमा उल्लेख भूमिका खेलेको बताए । उनले संघले संस्थाहरुलाई दिगो रुपमा सञ्चालनमा सघाउनको लागि विभिन्न समयमा तालिम तथा गोष्ठी गर्नु राम्रो पक्ष भएको जनाए । विश्वका १ सय १२ राष्ट्रमा ३० लाख सहकारीमा १ अर्ब मानिस आवद्ध रहेको जनाए । उनले अमेरिका जस्तो देशमा सहकारीको आवश्यकता रहेको भन्दै नेपालमा पनि सहकारीको महत्व कम नभएको बताए । गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्ध सहकारी संस्था सुरक्षित हुने र बागमती प्रोस्कूनले कोसिस कार्यक्रम सञ्चालन गरेको उनले बताए ।