भक्तपुर । भक्तपुर जिल्लाका चार वटै नगरपालिकाका सहकारीकर्मीले संयुक्त प्रभातफेरी कार्यक्रम गरी ६८औं राष्ट्रिय सहकारी दिवस मनाएका छन् । नगर सहकारी समन्वय उपसमितिको समन्वयमा मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाहरुको आयोजनामा प्रभातफेरी गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी मर्यादित भई समुदायकोे सुख दुखको सारथी बन्न सके समुन्नत समाज निर्माणमा टेवा पुग्ने बताए ।
सहकारी आफै्मा मर्यादित हुनुपर्नेमा सहकारीको मर्यादा विपरित संचालकको मनोमानीले विकृती बढेको उनले बताए । सहकारी समुदायको हुनुपर्छ र समुदायका आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि हुनुपर्ने जिकिर गर्दै भक्तपुर नगरपालिकामा सूचिकृत तथा दर्ता नभएका कुनै पनि सहकारीमा बचत नराख्नको लागि अनुरोध गर्दै आएको उनले जनाए । नगरबासीको बचत सुरक्षा गर्ने दायित्व नगरपालिकाको भएकाले सहकारीमा समस्या आउन नदिन सुधारात्मक अनुगमनलाई जोड दिएको उनले उल्लेख गरे । देशमा युवा वर्ग विदेशिने क्रम बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै सहकारीको माध्यमबाट युवा शक्तिलाई स्वदेशमै उत्पादन तथा उद्यम क्षेत्रमा लग्ने प्रेरित गर्नुपर्ने उनको भनाई थियो ।
भक्तपुर जिल्ला बचत संघका संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले यस बर्ष ६८औं राष्ट्रिय सहकारी दिवस “मर्यादित सहकारी ः समुन्नत समाज” भन्ने नाराका साथ मनाइएको जनाए । सरकारले सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकको निर्देशन जारी गर्दै मर्यादित बनाउन खाजेको भएतापनि समस्यामा परेका सदस्यहरुको बचत सुरक्षा भन्दा पनि सहकारी ठगी गर्नेहरुलाई पृष्ठपोषण गरेको बताए । सहकारी सिद्धान्त विपरितका ऐन कानुनको संघले निरन्तर विरोध गरेकै कारण सरकारले प्रतिस्थापन विधेयकमार्फत केहि बुँदा संशोधन भएको उनले जनाए ।
संघका सचिव एवं नगर सहकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतिले स्वागत गर्दै सहकारी अभियान र नियमन निकाय फरक भएकोले सहकारी अभियानले गर्नुपर्ने काम अभियानबाट नै गर्न÷गराउन नियामक निकायले साथसहयोग गर्नुपर्ने उल्लेख गरे । उनले नियामक निकायले सहकारीको प्रभावकारी अनुगमन गरी निरन्तर शिक्षा तालिम दिनुपर्ने उल्लेख गरे । संघमा आवद्ध सदस्य संस्थाहरुमध्ये यस वर्ष जिल्ला स्तरीय युवा बचत तथा ऋण सहकारी संघ लि., भक्तपुर नगरपालिकामा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुर थिमि नगरपालिकामा बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., सुर्यविनायक नगरपालिकामा सुर्वणपुर बचत तथा ऋण सहकारी संस्था लि. र चाँगुनारायण नगरपालिकामा देवी महिला बचत तथा ऋण सहकारी संस्था लि. लाई सहकारी व्यवसाय पुरस्कार संघको स्थापना दिवसमा पुरस्कृत गर्ने घोषण गरे । प्रभातफेरी कार्यक्रमको सञ्चालन उपसमितिका सदस्य राजन जतिले गरेका थिए । प्रभातफेरी कार्यक्रममा ६७ वटा संस्थाहरुबाट २००० जना भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।