ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा महानगरभित्र कुनै पनि सहकारी संस्था दर्ता नगर्ने अडान लिएको बताएका छन् । आफुले दर्ता दिएका संस्थाले सदस्यको बचत लिएर भागे भने त्यसको आरोप आफुमाथि पनि लाग्ने भन्दै संस्था दर्ता नदिएको उनले प्रष्ट पारे ।
६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर आज भएको ‘सहकारीका समसामयिक सवाल’ विषयक एक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले संविधानको अनुसूची ८ को एकल अधिकारमा स्थानीय सरकारले पनि सहकारीको दर्ता गर्न सक्ने व्यवस्था गरेको भएपनि अहिलेसम्म कुनै नयाँ संस्था दर्ता नदिएको उनले प्रष्ट पारे । ‘कतिपय सहकारीकर्मी आएर संविधानमा भएको व्यवस्था किन कार्यान्वयन नगरेको भन्दै प्रश्न गरे,’ उनले भने, ‘मैले अदालत जानुस् तर संस्था दर्ता दिन्न भनेर फर्काईदिएँ । स्थानीय तहले दर्ता दिएको सहकारी संस्थाले बचत लिएर भागे भने जिम्मा कसले लिने ? जबसम्म नियमन बलियो हुँदैन तबसम्म सहकारी दर्ता दिइँदैन ।’
महानगर मातहत रहेका ३१८ सहकारी संस्थामध्ये १५४ संस्थाले वार्षिक प्रतिवेदन पेश नगरेको भन्दै उनले ती संस्थामा केहि गडबडी भएकाले नै रिपोर्ट नआएको हुनसक्ने आशंका जनाए । उनले ललितपुर महानगर क्षेत्रभित्र कुनै संस्था दर्ता नदिन र सेवा केन्द्र समेत विस्तार नगर्न संघीय र प्रदेश सरकारलाई पनि चेतावनी दिएकाले अहिलेसम्म दर्ता नभएको उल्लेख गरे ।
सहकारीले स्थानीय अर्थतन्त्रलाई माथि उठाउनुपर्नेमा उनको जोड छ । स्थानीय अर्थतन्त्र चलायमान भएमात्र जनताको जीवनस्तर उक्सने उनको भनाई छ । कार्यक्रममा सोही नगरपालिकाका उद्योग तथा सहकारी महाशाखाका निर्देशक खगेन्द्र प्रसाद वस्तीले महानगर मातहत ३१८ संस्था रहेको भएपनि १६४ संस्थाले नियमित रुपमा वार्षिक प्रतिवेदन अद्यावधिक गरेको जानकारी दिए । महानगरका सहकारीले १७ हजार १६८ जना सदस्यलाई ९ अर्ब ऋण लगानी गरेको उनको भनाई छ । ती संस्थाले २० अर्ब माथि बचत परिचालन गरेका छन् ।
महानगर मातहत रहेका १४ वटा संस्थाले सदस्यको बचत फिर्ता नगरेकाले प्रहरीकहाँ लेखिपठाएको उनको भनाई छ । ती संस्थाका ४८९ जना सदस्यको ४५ करोड मागदावी गरेकोमा २७ करोडको मिलापत्र भइसकेको उनले बताए । केहि संस्थाका ऋणीले ऋण चुक्ता गरेर आफ्नो सम्पत्ति फुकुवा गर्न चाहेको भएपनि संस्थाका सञ्चालक सम्पर्कमा नरहेकाले समस्या भएको उनले जनाए । ५ वर्ष देखि अद्यावधिक नगरेका १० संस्थालाई विघटन गरिसकेको र अझै अद्यावधिक हुन बाँकी संस्थाका सञ्चालकको फोटो र नामावली सहित प्रकाशन गर्ने तयारी गरिएको उनले जनाए । सहकारीले स्थानीय र संघीय सरकारलाई राजश्वमा समेत योगदान गरेको उनले बताए । त्यसका साथै उद्यमशीलता विकास र रोजगारी सिर्जनमा पनि सहकारीको भूमिका उल्लेख्य रहेको उनको भनाई छ ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उप–सचिव टोलराज उपाध्यायले विद्यमान कानुनी र त्यसका प्रावधानका विषयमा प्रस्तुतिकरण गरेका थिए । उनले एकापसमा सहकार्य गरेर आत्मनिर्भर हुने पद्धति नै सहकारी भएको बताए । संविधानले नै सहकारीलाई तीन तहका सरकारमातहत राखेको हुँदा सहकारीको नियमन, प्रवर्धन र विस्तारमा तीनै तहको उत्तिकै जिम्मेवारी रहेको उनले औंल्याए ।
सो अवसरमा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खालीले समग्र जिल्लामा रहेका सहकारी र ती संस्थाले सदस्य र समुदायलाई पु¥याएको योगदानका बारेमा प्रस्तुतिकरण गरेका थिए । सहकारीलाई बचतऋणको मात्र काम गर्ने भन्दै समाजमा गलत चित्रण गर्ने गरिएको भएपनि ललितपुरका सहकारीले उत्पादन र सेवाको क्षेत्रमा समेत ठूलो योगदान पु¥याएको उनले बताए ।
जिल्लाका सहकारीले ९ अर्ब ५४ करोड शेयरपुँजी तथा ८९ अर्ब ६८ करोड बचत संकलन गरी ८१ अर्ब ३ करोड ऋण लगानी गरेको उनले जानकारी दिए । संघले सहकारी प्रवर्धन केन्द्र सञ्चालन गरेको र उक्त केन्द्रमार्फत सहकारीहरुले उत्पादन गरेका वस्तुहरुको बजारिकरण गर्दै आएको बताए । साताको दुई दिन शुक्रबार र शनिबार हाट बजार लाग्ने र ललितपुरका ग्रामीण क्षेत्रका सदस्यले उत्पादन गरेको तरकारी र खसीबोका हाटबजारमा विक्री वितरण हुने गरेको उनको भनाई छ । साप्ताहिक रुपमा २ लाख ५० हजारसम्मको तरकारी तथा खसीबोका विक्री हुने गरेको र मासिक १२ देखि १५ लाखको टर्नओभर गरी स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने काम भएको उनले जनाए । संघले उत्पादन र उपभोक्तालाई जोड्न पुलको काम गरेको उनको भनाई छ । त्यसका साथै दुग्ध, पर्यटन, विद्युत र लौठसल्लाको उत्पादनमा समेत सहकारीले काम गर्दै आएको उनले बताए ।
कार्यक्रममा विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधिका साथै प्रारम्भिक संस्थाका सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईंले गरेका थिए भने बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरद महर्जनले स्वागत गरेका थिए ।

नेपालपत्र संवाददाता