राष्ट्रिय सहकारी महासंघले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी गान लोकार्पण गरेको छ । औपचारिक समारोहका प्रमुख अतिथि एवं कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहकारी गान औपचारिक रूपमा सार्वजनिक गरेका हुन् । सोही अवसरमा उनले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ नेपालमा विभिन्न कार्यक्रम तथा गतिविधिहरू गरी भव्य रूपमा मनाइने घोषणा डिजिटल माध्यमबाट गर्दै औपचारिक हस्ताक्षर समेत गरेका थिए।
कार्यक्रमको अध्यक्षता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले गरेका थिए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवं मूल समारोह समितिका सहसंयोजक ओमदेवी मल्लले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेकी थिइन् । उनले सहकारी अभियानलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन सहकार्य, समन्वय र नवीन रणनीतिहरू आवश्यक रहेको बताइन् ।
सहकारी संघसंस्थाहरुले आगामी दिनमा गर्ने हरेक औपचारिक कार्यक्रममा यो सहकारी गान बजाइने भएको छ ।

सोही अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेलले “मर्यादित सहकारीः समुन्नत समाज“ भन्ने थिममा विशेष प्रस्तुतीकरण गरेका थिए । उनले सहकारीहरूलाई मर्यादित, पारदर्शी र आत्मनिर्भर बनाउने उपायहरूबारे व्यापक जानकारी दिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सल्लाहकारहरु खगराज अधिकारी, देवेन्द्रराज कँडेल, लिलामणि पोखरेल, तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार दीपकप्रकाश बाँस्कोटाले सहकारी क्षेत्रको वर्तमान अवस्था, नीति सुधारका आवश्यकता, तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिहरू विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।
सहकारी अभियानलाई थप प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी साझेदारी आवश्यक रहेको सहभागी वक्ताहरूले जोड दिए ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सहकारी संस्थाहरू तथा सहकारी सदस्यहरूले उत्पादन गरेका विविध सामाग्रीहरू प्रदर्शन गरिएको थियो । यी सामाग्रीहरूमा कृषि उत्पादन, हस्तकला, घरेलु उद्योगका वस्तुहरू, तथा अन्य नवप्रवर्तनशील उत्पादनहरू समावेश थिए, जसले सहकारीहरूको व्यावसायिक सम्भावनालाई उजागर गरेको थियो । कार्यक्रम विशेष रूपमा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरलाई लक्षित गरी आयोजना गरिएको थियो ।

नेपालपत्र संवाददाता