जिरी, दाेलखा।
एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले “सहकारी सुशासनमा सदस्य, सञ्चालक र व्यवस्थापनको भूमिका” विषयक ३ दिने ३ वटा छुट्टा छुट्टै अन्तरक्रिया कार्यक्रम गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस मनाएको छ । जिरी नगरपालिकासँगको सहकार्यमा पालिकामा सञ्चालित सहकारी विभिन्न संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति, उपसमिति, कर्मचारी र सदस्यहरुको सहभागितामा कार्यक्रम गरेको हो ।
‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिरी नगरपालिकाको आयोजना र एकीकृत फ्रेण्डसिप साकोसको सहजीकरणमा सञ्चालन गरेको हो । पहिलो कार्यक्रम चैत १८ गते जिरी नगरपालिका वडा नं. ९ स्थित ठूलोपातल मा.वि.को सभाहलमा ३२ जना सहकारीकर्मीको उपस्थिति र जिरी न.पा. सहकारी समन्वय समिति सदस्य कुशबहादुर तामाङको सभापतित्वमा सम्पन्न गरेको हो । त्यस्तै, चैत १९ गते जिरी नगरपालिका वडा नं. १ मा विभिन्न सहकारी संस्थाका ४० जना प्रतिनिधिको सहभागिता रहेको थियो भने जिरी नगरपालिकाका सहकारी समन्वय समितिका उपाध्यक्ष खुसबहादुर कार्कीको सभापतित्व र दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्काको प्रमुख आतिथ्यतामा रहेको थियो ।
त्यसैगरी चैत २० गते एकीकृत फ्रेण्डसिप साकोसको सभाहलमा जिरी नगरपालिका वडा नं. २, ४ , ५ र ६ का करिब ४५ जनाको सहभागिता रहेको थियो । जिरी नगरपालिका सहकारी समन्वय समिति सदस्य भिमबहादुर जिरेलको सभापतित्व र जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सुशासनको परिचय, महत्व, औजार र क्षेत्रको जानकारी सहित सुशासन कसरी कायम गर्ने र सुशासन नहुँदा हुनसक्ने कानूनी दण्डसजायसम्बन्धी व्यवस्थाका बारेमा साकोसका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमको समापनमा सहभागिहरुले सुशासन पालनमा कुनै सम्झौता नगरिने प्रतिवद्धता जनाएका थिए ।
तीन दिनकै कार्यक्रमको सञ्चालन जिरी नगरपालिका सहकारी विभाग प्रमुख सानुमैया (साविन्द्रा) खड्काले गरेकी थिइन भने एकीकृत फ्रेण्डसिपका नायब प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले स्वागत गरेका थिए । दिवसको अवसरमा संस्थाले दिपालवी समेत गरेको थियो।

नेपालपत्र संवाददाता