आइतबार, कार्तिक ९ गते २०८३

बैंक तथा वित्तीय संस्थाले भन्दा बढी योगदान सहकारीले गरेका छन्ः मेयर शाक्य


चैत्र २०, २०८१ बुधबार
बैंक तथा वित्तीय संस्थाले भन्दा बढी योगदान सहकारीले गरेका छन्ः मेयर शाक्य


बनेपा नगरपािलकाका मेयर शान्ति रन्त शाक्यले बैंक तथा वित्तीय संस्थाले भन्दा सहकारीले समाजमा बढि योगदान गरेको बताएका छन् । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामान्य जनताको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण भएको जनाएका हुन्र ।

मेयर शाक्यले समाजमा सहकारीको विकल्प नभएको भन्दै वित्तीय कारोबार गर्ने संस्था भएकाले सुरक्षित रुपमा सञ्चालन गर्न आग्रह गरे । उनले भविष्यमा समेत सहकारीको आवश्यक पर्ने हुँदा सञ्चालकहरु मर्यादित र अनुशासित भएर संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिए । सहकारीको हित र प्रवर्धनका लागि नगरपालिकाले काम गरिरहेको उनले बताए । बनेपामा रहेका केही सहकारी संस्थाले सदस्यको बचत दुरुपयोग गरेको उनको भनाई छ । नगरपालिका मातहत २ सय २० सहकारी संस्था रहे पनि १ सय ३५ संंस्था मात्र सम्पर्कमा आएको र तीमध्ये १ सय ४ संस्थाले नियमित रुपमा वित्तीय विवरण अध्यावधिक गरेको उनले जनाए ।  

कतिपय सहकारीको साइन बोर्ड टाँगिएको भए पनि सञ्चालक कहाँ छन्  भनेर थाहा नभएको शाक्यको भनाई छ। बनेपा नगरपालिका मातहतका २२ सहकारी संस्थामा समस्या रहेको र बचतकर्ताहरुले बचत फिर्ता नपाएको गुनासो गरिराखेको उनले बताए । कतिपय संस्थाले सदस्यको बचत डुबाउन लागेका छन् भन्ने सूचना पाएपछि नगरपालिकाले ती संस्थाका सञ्चालक र कर्मचारीको सम्पत्ति रोक्का राखेको उनले जानकारी दिए ।