नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रको दिगो विकासको लागि योगदान पुर्याउने अपेक्षा गरेको छ। राष्ट्रिय सहकारी दिवसले सहकारी क्षेत्र आम जनमानसमा एक विश्वसनीय सहकार्यको थलो बन्ने र विशेष गरी सदस्यहरूले राखेको बचतको सुरक्षाको प्रत्याभूति रहने साथै महाअभियानमा लागेका बृहत सदस्यहरूको जीवनस्तर परिवर्तन हुने विश्वास लिएको अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए ।
उनले शुभकामना वक्तव्य जारी गर्दै ‘मर्यादित सहकारीः समुन्नत समाज’ को मर्म अनुरुप सम्वद्ध सबैबाट यस क्षेत्रको दिगो विकासमा सक्रिय योगदानको पूर्ण अपेक्षा र विश्वास लिएको जनाएको छ। शुभकामना सन्देशमा भनिएको छ, ‘नेफ्स्कूनले स्थापनाकाल (२०४५ साल) देखि बचत ऋण सहकारीहरूको स्थापना, प्रवर्धन, विकास, व्यवसायिकीकरण, गुणस्तर सुनिश्चितता र सञ्जाल व्यवस्थापनमा विश्वका सफल अभ्यासहरूको आन्तरिकीकरण एवम् हस्तान्तरण गर्दै साकोस विकासमा निरन्तर प्रतिवद्धता सहित आफ्नो गन्तव्यमा लागिरहेको विश्वास दिलाउन चाहन्छु। संघले सदस्य संघ संस्थाहरूको वित्तीय सुरक्षा तथा स्तरीयता कायम राख्न २०५५ सालदेखि संस्थागत विकास, गुणस्तर सुनिश्चितता एवम् सञ्जालिकरणका लागि आवश्यक कार्यक्रमहरू विकास गरी कार्यान्वयन गरिरहेको छ ।
बचत तथा ऋण सहकारी संस्थाहरूलाई जोखिमबाट संरक्षण गर्न सहकारी ऐन, २०७४ को दफा १०३ बमोजिम २०७६ सालदेखि स्थिरीकरण कोष विधिवत रुपमा शुरुवात भई निरन्तर विकासको चरणमा रहेको छ। स्थानीय तहसँगको समन्वयमा आधारशिला कार्यक्रम कार्यान्वयनमा रहेको छ । संघले आफ्नो छैटौं रणनीतिक योजनाको केन्द्र बनाएको साकोसहरूमा प्राविधिकीकरण र प्रविधि मार्फत दिगो साकोस व्यवस्थापनको सञ्जालको परिकल्पनालाई साकार पार्न चालिएका कदमहरुले नतिजा प्राप्त गर्न थालेको अवस्था छ।’ त्यसैगरी बचत तथा ऋण सहकारी क्षेत्रको विकासमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको विषयले नयाँ आयाम लिनेछ भन्नेमा अभियान विश्वस्त रहेको समेत जनाएको छ।
नेपालपत्र संवाददाता