आइतबार, कार्तिक ९ गते २०८३

आज ६८ औं राष्ट्रिय सहकारी दिवसः राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना


चैत्र २०, २०८१ बुधबार
आज ६८ औं राष्ट्रिय सहकारी दिवसः राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना

आज देशभरी विभिन्न कार्यक्रमको आयेजना गरी ६८औं राष्ट्रिय सहकारी दिवस मनाइदैँ छ । २०१३ साल चैत्र २० गते चितवनमा स्थापना भएको बखान ऋण समितिलाई पहिलो सहकारी संस्थाको रुपमा लिएर नेपालमा सहकारी दिवस मनाउन सुरु गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघले यस बर्षको सहकारी दिवसको थिम ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने तय गरेको छ । यही थिममा आधारित भएर देशभरका सहकारी संघ \संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी रहेका छन् ।  सहकारी दिवसको अवसरमा नेपाल सरकार र सहकारी अभियानको संयुक्त  आयोजनामा  आज काठमाडौंमा  विशेष कार्यक्रम हुँदैछ । कार्यवाहक प्रधानमन्त्री  प्रकाशमान सिंहको प्रमुख आथित्यतामा राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम हुने राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले बताइन् ।  काठमाडौं उपत्यकाका सहित काभ्रेपलाञ्चोक जिल्लाका सहकारीकर्मीहरु सभा गृहमा सहभागि भएर ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ भव्य रुपमा मनाउन लागिएको अध्यक्ष  मल्लले जानकारी दिइन् ।

उनले महासंघले राष्ट्रिय सहकारी गान तयार गरेको  र आज त्यसलाई विमोचन गर्ने जानकारी दिइन्। त्यसका साथै महासंघले सहकारी झन्डा बनाएरको र त्यसको पनि डिजिटल माध्यमबाट उद्घाटन गरिने उनको भनाई छ । सहकारी दिवसको थिममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायका सचिव अर्जुन प्रसाद पोखरेलले कार्यपत्र प्रस्तुत गर्ने छन् । सहकारी मर्यादित भए भने मात्र समुन्नत समाज निमार्ण गर्न सकिने उनले बताइन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको अध्यक्षतामा कार्यक्रममा न हनेछ । राष्ट्रिय सहकारी दिवस एवम् अन्तराष्ट्रिय सहकारी वर्ष मनाउन १५१ सदस्यीय मूल समारोह समिति र २५ सदस्यीय कार्य व्यवस्थापन समिति समेत गठन गरिएको थियो । मूल समारोहको संयोजकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सहसंयोजकमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल रहेकी छिन् ।विगत एक हप्तादेखि रक्तदान,सरसफाई, गोष्ठी,सहकारी अन्तरक्रिया तथा सचेतना जस्ता विभिन्न कार्यक्रम गरी देशभरी सहकारी दिवस मनाई राखिएको छ ।