आइतबार, कार्तिक ९ गते २०८३

अभियानको एउटै आवाजले संघहरुले गर्ने वित्तीय कारोबारमा लाग्ने छेकबार हटाउन सकिन्छः सापकोटा


चैत्र १५, २०८१ शुक्रबार
अभियानको एउटै आवाजले  संघहरुले गर्ने वित्तीय कारोबारमा लाग्ने छेकबार हटाउन सकिन्छः सापकोटा

 बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(बामगती प्रोस्कून) ले सहकारीका समस्या समाधान विषयमा एक दिने गोष्ठी आयोजना  गरेको छ । संघको आयोजना र  बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको साझेदारीमा  १३ वटै जिल्लाका बचत ऋण सहकारीका प्रतिनिधिहरुको सहभागितामा  काठमाडौंमा आज गोष्ठी सम्पन्न भएको हो । 

बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको गोष्ठीको बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले उद्धघाटन गरेका थिए । संघका अध्यक्ष सापकोटाले गोष्ठी आयोजना गर्नुको उदेश्य माथि प्रकाश पार्दै प्रदेशमा रहेका सहकारीहरुको समस्या पहिचान गरी समाधानको उपाय खोज्न गोष्ठी आयोजना गरिएको बताए । बागमतीमा ४ हजार ९ सय बचत ऋण सहकारी संस्था सञ्चालनमा रहेको र १३ वटै बचत  संघले ती संस्थाहरुको विकास र प्रवद्र्धनका लागि काम गर्दै आएको उनले बताए । बागमती प्रदेशले सरकारबाट स्वीकृत लिएर कोसिस (स्तरीकरण) कार्यक्रम सञ्चालन गरेको पनि उनले जनाए ।

सदस्यहरुको बचतको सुरक्षाको लागि कोसिस कार्यक्रमले सघाउने उनको भनाई छ । स्तरीकरण कार्यक्रममा आवद्ध भएका संस्थाहरु बैंक भन्दा राम्रो रहको भन्दै स्तरीकरण कार्यक्रम संचालन गरेका अष्ट्रेलिया कोरिया लगायतका देशमा यो कार्यक्रमले सहकारीको गुणस्तर वृद्धिमा सहयोग गरेको उनले जनाए । अध्यक्ष सापकोटाले अध्यादेशले सहकारीका संघहरुले गर्ने वित्तीय कारोबारमा छेकबार लगाएको भन्दै अन्तर लगानीलाई निरन्तरता दिन अभियानको एउटै आवाज हुनुपर्नेमा जोड दिए । अन्तर लगानीले सहकारी संघ संस्थालाई सहयोग पुगेको  भन्दै उनले बैंक बन्नको लागि यो कार्यक्रम नगरेको प्रष्ट पारे । प्रदेशमा देखिएका सहकारीको समस्यामा गहन छलफल गरी समस्या समाधान गर्न अभियान र राज्यको भूमिका के हुने भनेर  गोष्ठीमा खोजि गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी मन्त्रालयका सचिव रुद्र प्रसाद लामिछाने, बागमती प्रोस्कूनका संचालक तथा १३ वटै जिल्लाका साकोस प्रतिनिधिहरुको सहभगिता रहेको थियो । कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा तथा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । 


486799142_635533195902982_1416166124510922288_n.jpg