रवीन्द्रनाथ टैगोर (१८६१–१९४१) लाई गुरुदेव वा विश्वकविको नामले पनि जानिन्छ । उनी नोबेल पुरस्कार पाउने पहिलो एशियाली कवि, साहित्यकार र दार्शनिक हुन्। मोहनदास करमचन्द गान्धीलाई 'महात्मा गान्धी' विशेषणले पुकार्ने (मार्च १९१५) परिपाटीको प्रारम्भ गुरुदेवले नै गरेका हुन् ।
सन् १९१३ मा गीता दर्शनका आधारमा लिखित उनको काव्यरचना ‘गीताञ्जली’ का लागि उनलाई नोबेल पुरस्कार दिइएको हो । गुरुदेवको अर्को विशेषता उनी भारतको राष्ट्रगान “जन गण मन....” (१९११ डिसेम्बर ११) र बाँग्लादेशको राष्ट्रगान “आमार सोनार बाँग्ला.....” का रचयिता (१९०५) हुन् । एउटै व्यक्तिले दुई स्वतन्त्र राष्ट्रको राष्ट्रगान रचना गर्नु दुर्लभ संयोग हो । बांग्लादेशको राष्ट्रगान बंगाल र पूर्व पाकिस्तानको विभाजनभन्दा पहिले लेखिएको थियो।
टैगोरले आफ्ना धेरैजसो साहित्यिक कृति पद्यमा लेखेका छन्। कविताका अतिरिक्त प्रख्यात आख्यानकारको रुपमा कथा, निवन्ध, उपन्यास, लघुकथा, नाटक, गाना र यात्रा वर्णन पनि उनले उत्कृष्ट शैलीमा लेखेर आफ्नो बहुप्रतिभा र कालजयी प्रभाव छोडेका छन् । हामीले हाईस्कूलको अँग्रेजी (Nepal Prose Selection) मा गद्यका विविध विधामध्ये उनको एक चर्चित कथा 'शुभा' पनि थियो । कुनै बाबुले आफ्ना तीन सुन्दर छोरीको नाम सुकेशिनी, सहासिनी र शुभाशिनी राखेका हुन्छन् । सुन्दर केश भएकीको नाम सुकेशिनी र सुन्दर मुस्कान भएकीको नाम सुहासिनी त सार्थक हुन्छ । तर शुभाशिनी नाम दिएकी छोरी बहिरो र लाटी हुन्छिन् । यस्तो अवस्थामा एक पिताको कस्तो मनोदशा हुन्छ, कथाको विषयवस्तु यही सेरोफेरोमा प्रस्तुत छ ।

प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग उनको सन् १९३० मा भएको भेट (फोटो) र कुराकानी एउटा उल्लेखनीय सामाग्रीको रुपमा रहेको छ । १९१५ मा बेलायतको सर्बोच्च सम्मानद्वारा उनलाई विभूषित गरिएको थियो । तर १९१९ मा पञ्जावको जालियाँवाला बगैँचामा भएको गोली काण्ड र नरसंहारमा १५ सयभन्दा बढी निहत्था सर्वसाधारणको हत्या गरेपछि तत्कालीन बेलायती उपनिवेशी शासनलाई विरोधस्वरुप ब्रिटिश महारानीले दिएको उक्त सम्मान फिर्ता गरे ।
धेरै वर्षसम्म उनको निधनको खास कारणबारे कसैले यकिनका साथ भनेका छैनन् । तर धेरै वर्ष भएको छैन एउटा गहिरो अनुसन्धानपछि उनको निधन पोस्ट्रेट क्यान्सरबाट भएको हो भनिन्छ । कालिम्पोङ् गएका बेला उनको पेट अचानक दुखेपछि पिशाब बन्द भएको समस्या थियो । यसैबाट उनको निधन भयो।
चन्द्रमणि गाैतम