कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थाले चामल उत्पादन गरी बजारमा पठाएको छ। संस्थाले गोदावरी नगरपालिका ८ मजगाउँमा कृषि उप आयोजना सञ्चालन गरी नवजीवन खाद्य उद्योग (राइस मिलं सञ्चालन गरी मसिनो र ग्रेडिङ चामल उत्पादन गरिरहेको छ। सहकारीका अध्यक्ष देव बहादुर बमले शेयर सदस्यहरूलाई कृषिसँग जोड्नका लागि चामल उत्पादन सुरु गरिएको बताए।
उनले राइस मिलमा हाल सम्म १६ हजार २८ क्विन्टल धान खरिद गरेर एक हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको बताए। सहकारीले ६ सय ५१ क्विन्टल २९ किलोग्राम चामल उत्पादन गरेको छ। उनले भने, ‘दैनिक चार सय क्विन्टल धान कुट्दै आएका छौ। बढीमा ५६ किलोग्रामसम्म चामल आएको छ।’ सहकारीले २५ किलोग्राम मोटो चामलको एक हजार चार सय र मसिनो चामलको २ हजार २ सय मूल्य निर्धारण गरेको छ। धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने सहकारीका अध्यक्ष बमले बताए। उत्पादित चामल नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरूबाट बिक्री वितरण गरिने छ। सहकारीले घर–घरमा नै चामल पुगाउने सुविधा समेत दिने छ।
सहकारीले मझगाउँमा कृषि उपआयोजनाका लागि एक बिघा १० कट्ठा जग्गा खरिद गरेको छ। सोही स्थानमा पाँच हजार टन क्षमताको गोदाम घर निर्माण गरिएको छ। बमले भने, ‘नवजीवन उद्योगीक ग्रामका रूपमा विकास गर्ने छौ। यो क्षेत्रमा मसुरोको दाल, तोरीको तेल र पानी उत्पादन गर्ने तयारीमा छौ। चामलको उत्पादन र धान खरिद पनि बढाउनेछौ।’नवजीवन सहकारी संस्थाका ३६ हजार शेयर सदस्यसहित उपभोकताले शुद्ध र अर्गानिक चामल खान पाउन भन्ने उद्देश्यले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको बमले बताएका छन्। उनले सोही स्थानमा गहुँको पिठो, तेल र पानी उत्पादन गर्ने योजना समेत रहेको बताए।
नेपालपत्र संवाददाता