आइतबार, कार्तिक ९ गते २०८३

सहकारीमा एक संस्था एक सदस्य व्यवहारिक छैनः अध्यक्ष लाखाजु


चैत्र १०, २०८१ आइतबार
सहकारीमा एक संस्था एक सदस्य व्यवहारिक छैनः अध्यक्ष लाखाजु


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको तालिम व्यवस्थापन उपसमितिको आयाजना र नेफ्स्कूनको प्राविधिक साझेदारीमा “कार्यविधि निर्माण” तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्था संस्थागत भई दिगो हुन नीति, विधि र प्रविधिबाट संचालन हुनुपर्ने  बताए । नीति र विधि विना व्यक्तिगत निर्णयबाट संचालित सहकारी, सहकारी नभई एक्लौटी व्यवसाय जस्तो  हुने उनको भनाई छ ।

 सरकारले जारी गरेको अध्यादेशले कुनै एक प्रकृतिको संस्थामा सदस्य भएपछि अर्को सोही प्रकृतिको संस्थामा सदस्य हुन नपाउने व्यवस्था व्यवहारिक नभएको उनको दावी छ । व्यक्तिगत बचतको सीमालाई सस्ंथागत पुँजीको १० प्रतिशतसम्म सदस्यसँग बचत संकलन गर्न पाउने गरी प्रतिस्थापन विद्येयक पारित गरेको उनले जानकारी दिए ।  संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संस्था संचालन गर्न बचत, ऋण, आर्थिक प्रशासन, कर्मचारी प्रशासन र सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि लगायतका आधारभूत कार्यविधि आवश्यक पर्ने बताए । कार्यविधि काम गर्ने विधि भएकाले उक्त विधिलाई उत्कृष्ट बनाउन निरन्तर प्रयोग र समयानुकुल परिमार्जनमा ध्यानदिनुपर्ने उनले सुझाए ।

नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले कार्यविधि निर्माण गर्दा गाह्रो भएता पनि कार्यविधिले कानुन सम्मत कार्यान्वयन गर्न सहयोग गर्ने बताए ।  तालिममा सिकेका कुराहरुको अभ्यास नगरिकन सिक्न नसक्ने भएकोले निरन्तर अभ्यास गर्नुपर्नेमा उनको जोड थियो । उनले कार्यविधि निमार्णले काम गर्न सहजता समेत हुने बताए । तालिममा सहभागीहरुले सहकारीको कार्यविधि निर्माण प्रयोगात्मक सिकाई भएकाले खुशी व्यक्त गरे ।  तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्चतहका कर्मचारीहरु गरी ३४ जनाको सहभागिता रहेको थियो ।