शुक्रबार, कार्तिक ७ गते २०८३

ऐन तोडमोड गर्न खोजे सहकारी क्षेत्र गलत बाटोमा जान्छः निर्देशक पौडेल

चैत्र ९, २०८१ शनिबार
ऐन तोडमोड गर्न खोजे सहकारी क्षेत्र गलत बाटोमा जान्छः   निर्देशक पौडेल

नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक  तथा राष्ट्रिय सहकारी प्राधिकरणका सञ्चालक गुरु पौडेलले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको संसारभर नियमन गर्ने अभ्यास रहेको बताएका छन् । बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले बचत र ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन आवश्यक रहेको बताए । बचत ऋण सहकारी संस्थालाई सुशासनमा राख्न मापदण्ड र निर्देशन बनाएर लागु गर्नु परेको उनको भनाई छ ।

सहकारीमा नियमन, सुपरिवेक्षण र निरिक्षण आवश्यक रहेको र ती शब्द सुन्दा उस्तै लागे पनि त्यसको अर्थ फरक रहेको उनको भनाई छ । सहकारीमा मुख्य समस्या पारदर्शिता रहेको र कतिपय संस्था त्यसमा चुकेकाले अहिलेको समस्या आएको उनको भनाई छ । राष्ट्र बैंकले जारी गरेको सहकारी मापदण्ड र निर्देशनमा ८९ संस्था र २१ जना व्यक्तिबाट गरी १ सय १३ वटा  सुझाव आएको उनले जानकारी दिए । राष्ट्रिय सहकारी प्राधिकरणले बचत ऋण सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षण गर्नुका साथै इजाजत दिने र खारेजसम्म गर्नेसम्मको अधिकार रहेको उनले बताए । सहकारीका सञ्चालकले ऋण लिनु उपयुक्त नभएको भन्दै तोडमोड गर्न खोजे सहकारी क्षेत्र गलत बाटोमा जाने उनले प्रष्ट पारे । 
मूलुकमा १२ \१३ हजार बचत ऋण सहकारी संस्था रहेको र  ती संस्थाले राष्ट्र बैंकले जारी गर्ने निर्देशन तथा मापदण्ड पालना गर्नुपर्ने उनले जनाए । प्राधिरकण गठन भएको १ बर्षभित्र सहकारी संस्था प्राधिकरणमा दर्ता भईसक्नु पर्ने भन्दै उनले एउटा मेकानिजम बनाएर दर्ता गर्ने प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

 राष्ट्र बैंकले ९ खण्डमा मापदण्ड र निर्देशन जारी गरेको भन्दै पौडेलले सहकारीले प्राथमिक पूँजीको आधारमा बचत लिने र ऋण दिने व्यवस्था गरेको बताए । सहकारीले एउटै क्षेत्रमा ऋण लगानी नगरी ऋणलाई विविधिकरण गरे जोखिम कम हुने उनले जनाए । २५ करोड माथिको बचत ऋणको कारोबार गर्ने संस्थाहरु प्राधिकरणमा दर्ता हुनुपर्ने र सहकारीले ६ प्रतिशतको अन्तरमा बचत र ऋणको कारोबार गर्ने व्यवस्था गरेको उनले जानकारी दिए । पूँजी र पूँजीकोष ऋणात्मक हुँदा संस्था समस्या पर्ने र यसले बचत लिने क्षमता  ह्रास आउने उनको भनाई छ । संस्थालाई लामो समय सञ्चालन गर्न सुशासन अपरिहार्य भएको उनको भनाई छ । सहकारी संस्था आफैले व्यापार नगरी सदस्य माझमा ऋण लागनी गर्नुपर्ने उनको भनाइ छ । सहकारीले माग र आवश्यकताको आधारमा ऋण लगानी गरे संस्थाहरु समस्यामा नपर्ने उनको भनाई छ ।

फाइनान्सियल कारोबार गर्ने संस्थाले  फाइनान्सियल अडिट गर्नु पर्ने भन्दै उनले डेविट र क्रेडिटलाई तलमाथि गर्न नपाइने बताए ।  त्यसैगरी उनले सहकारीले गरेको सामाजिक पाटो देखाएर आर्थिक पाटोमा भएका गल्तीलाई माफको छुट नहुने बताए । कार्यपत्रमाथी टिप्पणी गर्दै नेफ्स्कूनको पूर्व सिइओ प्रकाश पोखरेलले बचत तथा ऋणको कारोबार गर्ने संस्था सधै जोखिममा हुने भएकाले प्रभावकारी नियमनको आवश्यकता पर्ने बताए । केही सहकारी उदेश्यबाट विचलन भएकाले सरकारले कडा कानुन बनाएर लागु गर्नु परेको उनको भनाई छ । संस्थाहरुले ऋण प्रवाह गर्दा ध्यान दिनुपर्ने भन्दै जोखिम व्यवस्थापनमा सधै तयार रहन उनले सुझाए । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरगाईले सहकारीको स्वायतता र स्वःनियमनलाई मर्न नदिने गरी नियमन तथा सुपरिवेक्षण गर्नु पर्ने बताए । उनले राष्ट्र बैंकले जारी गरेको कतिपय निर्देशन र मापदण्ड संस्थाहरुले हिजोदेखि नै लागु गरेको बताए ।

प्राधिरकणले सहकारीहरुलाई दर्ताको समय १ बर्षको राखेकाले यसलाई बढाउनुपर्ने सुझाव दिए । बचतको सुरक्षामा प्राधिकरणले ध्यान दिनुपर्ने र सदस्यको जीवनस्तर परिवर्तनमा सहकारीले ध्यान दिन उनको आग्रह छ । कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरेका थिए । सहकारीलाई सिष्टममा लैजानु पर्ने उनको भनाई छ । उनले सहकारीले रोजगारी सृजना, वित्तीय पहुँच तथा वित्तीय चेतना वृद्धिमा उल्लेख योगदान गरेको भए पनि केही सहकारी सिष्टममा नचल्दा ती कुरा छाँयामा परेको जनाए ।

सहभागीहरुले बचत तथा ऋण सहकारी मात्रै प्राधिकरणले हेर्ने की बहुउद्देश्यीयलाई पनि भन्ने प्रश्न गरेका थिए । उनीहरुले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न प्राधिकरणले छिटो काम थाल्नुपर्ने  सुझाव दिए । प्राधिकरण  शक्तिशाली भयो भने मात्र प्रभावकारी सुपरिवेक्षण हुने उनीहरुको बुझाई छ । कार्यक्रम संघकी उपाध्यक्ष कल्पना रिमालले संचालन गरेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता