सहकारी संस्था नीतिमा सञ्चालन भए समस्या नआउने पूर्व सचिव प्रताव कुमार पाठकले बताएका छन् । बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको दोस्रो दिनमा ‘वित्तीय सहकारीमा व्यवस्थापकीय सवालःपरिवर्तित र यथास्थिती’ विषयमा कमर्यपत्र प्रस्तुत गर्दै उनले सहकारीमा संगठित अराजकता बढेको बताए । उनले सहकारीमा जवाफदेहिताको प्रश्न उठेको भन्दै त्यसलाई व्यवस्थित गरेर जान सुझाव दिए ।
सहकारीमा सुपरिवेक्षण प्रणाली असाध्यै कमजोररहेकाले वित्तीय अपचलन बढेको उनले उल्लेख गरे । सहकारीले सदस्यको आवश्यकतालाई पहिचान गरी सोही अनुसारको सेवा दिन सके यो क्षेत्रको गरिमा बढेर जाने उनले जनाए । सहकारीका व्यवस्थापन इनोभेसनमा केन्द्रीत हुनुपर्ने भन्दै नवप्रवद्र्धनलाई आत्मसात गरेर जानुको विकल्प नरहेको उनको भनाई छ । संस्थागत सुशासन, पेशागत दक्ष जनशक्तिका साथै मूल्य, मान्यता र सिद्धान्त सञ्चालन भए वित्तीय सहकारी संस्था बलियो भएर जाने उनको ठम्याई छ । वित्तीय सहकारीको जोखिम मल्टिडाइमन्समा रहेकाले जोखिम व्यवस्थापन गरेर जान उनको सुझाव छ । वित्तीय अनुगमनमा ६ वटा इन्डिकेटर रहेको र वित्तीय सहकारीलाई अनुगमन गर्दा यी प्रश्नसँगै लिएर जानु पर्नेमा उनको जोड छ । सहकारीको ४ प्रकारले अनुगमन गर्न सकिने र वित्तीय सहकारीमा अनुगमनको आवश्यकता रहेको उनको भनाई छ । म्यानेजमेन्ट अडिट गर्ने कल्चर सहकारीमा नभएकाले यसलाई कल्चरको रुपमा विकास गरेर जान उनले सुझाए ।
भूमि,व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह सचिव टोलराज उपाध्यायले सहकारी क्षेत्र लामो समयदेखि समस्यामा रहेको बताए । उनले त्यसको पृष्ठभूमिमा सहकारीको समस्या खोज्नुपर्नेमा जोड दिए । वित्तीय सहकारीले बचत संकलन र ऋण लगानी गर्ने भएकाले व्यवस्थापनमा रुपान्तरणकारी नेतृत्व आवश्यक रहेको उनको भनाई छ । वित्तीय सहकारीलाई अहिलेको व्यवस्थापनले मात्र सुधार गर्न नसक्ने भएकाले दक्ष जनशक्ति र व्यवस्थापकिय चुस्तता वृद्धि गरेर जानुपर्नेमा उनको जोड छ । वित्तीय सहकारीको कारोबार क्रमशः वृद्धि गए पनि व्यवस्थापनको पक्षमा ध्यान जान नसक्दा समस्या आएको उनको बुुझाई छ । सिद्धान्तमा भन्दा व्यवहारमा परिवर्तन हुन आवश्यक रहेको भन्दै उनले क्षमतावान कर्मचारी संस्थामा राख्नुपर्ने बताए । नयाँ युवा पुस्तालई सहकारी क्षेत्रमा आकर्षण गर्न नसके संस्था दिर्घकालसम्म सञ्चालन गर्न समस्या हुने उनको बुझाई छ । राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक सुरेश थापाले सहकारीलाई कुन दिशामा लिएर जाने र व्यवस्थापनको जिम्मेवारी के हुने भनेर प्रष्ट गरेर जानुपर्ने बताए । उनले सहकारीका सञ्चालक र व्यवस्थापनसँगै जानुपर्ने भन्दै सहकारीको पुँजीलाई उत्पादनमा परिचालन गर्नुुपर्नेमा जोड दिए ।
सहकारीले कति पुँजी निर्माण गरेको छ र पुँजी कुन क्षेत्रमा परिचालन भएको छ भन्ने कुरालाई विश्लेषण गरेर जान आवश्यक रहेको उनको भनाई छ । सहकारीको व्यवस्थापनको कार्यशैलीमा परिवर्तन गर्ने बेला भएको भन्दै थापाले घर, सवारी साधन र रेष्टुरेन्टमा काम पनि काम गर्ने कल्चर विकास गर्नु पर्ने उनको भनाई छ । सहकारीको गन्तव्य पहिचान गर्न ढिला भएको र यस क्षेत्रलाई कुन दिशामा लैजाने भन्ने मार्गदर्शन तयार गर्न आवश्यक रहेको उनले बताए । सहभागीको तर्फबाट बोल्दै चमेली सहकारीका पूर्व अध्यक्ष उत्तम चौलागाईले सहकारीमा खुल्ला प्रतिस्पर्धाबाट सिइओ नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए । उनले व्यवस्थापनमा आफ्ना मान्छे भर्ति गर्ने र सहकारी नबुझेका सञ्चालकलाई संस्थामा राख्दा सोचे अनुसारको गति लिन नसक्ने जनाए । सहकारी सिद्धान्तले मात्र सञ्चालन नहुने भन्दै उनले सहकारी बुझेका र दक्ष कर्मचारी विना संस्थाले गति नलिने उनको दावी छ ।
अर्का सहभागी राम कटेलले नेपालको सहकारी अभियानलाई पर्यटन व्यवसायमा केन्द्रीत गर्नुपर्ने बताए । सहकारी मार्फत पर्यटन,होमस्टे व्यवसाय अगाडि बढाउन सके गाउँँ गाउँमा रोजगारी सृजना हुने उनको भनाई छ । कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । उनले सहकारी क्षेत्र तरल अवस्थामा रहेकाले यसलाई सुधार गरेर जान आवश्यक रहेको बताए । अध्यक्ष ढकालले सहकारीमा वित्तीय स्रोत महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रम सञ्चालन बागमती प्रदेश सहकारी संघका लेखा सुपरीवेक्षण समिति संयोजक विकल्प पाठकले गरेका थिए ।
नेपालपत्र संवाददाता