आइतबार, कार्तिक ९ गते २०८३

सहकारीलाई उत्पादनमा जान अन्य कानुनले स्वीकार गर्दैनन्ः मैनाली


चैत्र ९, २०८१ शनिबार
सहकारीलाई उत्पादनमा  जान  अन्य कानुनले स्वीकार गर्दैनन्ः मैनाली

 पूर्व सचिव गोपिनाथ मैनालीले सहकारीले अरुको आश गर्ने भन्दा आफै उद्यमी र ब्यवसाय गर्न प्रयास गर्नुपर्ने बताएका छन् । उनले राज्यले सवै कुरा गरिदिनुपर्ने सोचबाट बाहिर आउनुपर्ने बताए ।

बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले बागमती प्रदेशमा सहकारी मार्फत धेरै काम गर्न सकिने भएपनि त्यसो हुन नसकेको जनाए ।

स्थानीय अर्थतन्त्रलाई उठाउन सरकार र सहकारीले सहकार्य गर्नुपर्नेमा उनको जोड छ । सहकारीले स्थानीय उत्पादन र जैविक मल उत्पादन गर्न  सक्ने भन्दै मैनालीले मूल्य श्रृखला बृद्धि, अपूर्ति, बजारीकरण र प्याकेजिङ जस्ता कार्यमा सहकारीहरुले काम गर्न सक्ने जनाए ।

सहकारी ऐनले सहकारीलाई उत्पादनमा सघाउने भने पनि अन्य कानुनले सहकारीलाई स्वीकार नगरेको उनको भनाई छ । सहकारीलाई उत्पादनमा लैजान राज्यले नै वातावरण बनाइदिनु पर्नेमा उनको जोड छ ।

सहकारी संघहरुले पनि मध्यस्थताको भूमिका खेल्नुपर्ने र बजारको आवश्यकता र मागलाई ध्यान दिएर उत्पादनमा जान सकिने उनले सुझाए । सरकारले सहकारीलाई सहुलियत र सहकारीमैत्री कानुन दिए मात्र उत्पादनमा जानसक्ने उनको दावी छ ।

सहकारी संस्कृतिलाई विकास गर्दै जानु पर्ने उनको भनाई छ । सहकारीको नियमनमा अन्यौलता रहेको भए पनि अभिभावकको भूमिक संघले लिनुपर्नेमा उनको जोड छ ।

सहकारी ऐन शिक्षा तथा औधोगिक ऐनसँग बाझ्ने हुँदा काम गर्न त्यति सजिलो नभएको उनको भनाई छ । बजेट निर्माण गर्दा नै सहकारीको लागि बजेट छुट्याएर जानुपर्नेमा उनले जोड दिए ।

विश्वमा सहकारी मार्फत थुप्रै उत्पादनको काम भएको उदाहरण दिँदै मैनालीले नेपालमा पनि सहकारीले स सानो उत्पादनमा गएर सदस्यलाई सेवा दिन सक्ने उल्लेख गरे ।

नेपालमा पनि  केही सहकारी उत्पादनमा लागेको भन्दै त्यसलाई बढाउन आवश्यक रहेको जनाए । सहभागिहरुले उत्पादनमा जान पुँजी, प्रविधिको साथै बजारको आवश्यकता पर्ने बताए ।

उनीहरुलाई कृषिमा आत्मनिर्भर हुने हो भने सहकारी मार्फत उत्पादनमा जानुपर्नेमा जोड दिए । साना किसानलाई सहकारी मार्फत जोडेर जाँदा उत्पादन बढ्ने उनीहरुको धारणा छ ।

मुक्तिनाथ कृषि कम्पनीले सहकारी अभियानलाई जोडेर कृषिमा काम गर्न लागेको  सिइओ रामशरण तिमल्सिनाले बताए । कम्पनीले सदस्यले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न यो कम्पनी स्थापना गरेको उनको भनाई छ ।

आगामी ८५ सालसम्म १ हजार सहकारी संस्थासँग सहकार्य गरेर काम गर्ने योजना बनाएको र सहकारीमा आधारित कृषि स्रोत केन्द्रको अवधारणा अगाडि बढाएको उनले जानकारी दिए ।

१५२ संस्थासँग सम्झौता गरेर काम अगाडि बढाएको र साझेदारी मोडेलमा काम गरिरहेको उनले जनाए । उत्पादकलाई चाहिँने पुँजी, प्रविधि र बजारको व्यवस्थापन गर्ने उनको भनाई छ ।

कतिपय कृषि सहकारी संस्थासँग कम्पनीले सम्झौता गरेर काम थालनी गरेको र घाटा हुँदा सदस्यले बेहोर्नु नपेर्ने र नाफा भयो भने २० प्रतिशत सदस्यलाई दिने गरी अगाडि बढेको उनल सुनाए ।

बागमती प्रदेश दुग्ध विकास वोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेलले सरकारले पहिला उत्पादनमा जान लगानी गर्नुपर्ने र पछि क्रमश घटाउँँदै जानुपर्ने बताए ।

राज्यले सहकारीले स्थापना गरेको उधोगमा लगानी गर्न नसकेको भन्दै किसानले दुधको मूल्य भूक्तानी नपाएको उनले जनाए । सरकारले दुग्धजन्य वस्तुलाई उत्पादन गरी विश्व बजारमा पठाउँनु पर्नेमा उनको जोड छ ।

कृषि क्षेत्रमा आत्मनिर्भर हुँन सरकारले सहकारीलाई प्राथमिकता दिनु पर्ने उनले जनाए । कानुनले सहकारीलाई कम्पनीमा लगानी गर्न रोकको भन्दै ऐन मार्फत सहजीकरण गर्न उनको जोड छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी बस्नेतले प्यानलको अध्यक्षता गरेका थिए ।