पहिलो पटक बागमती प्रदेश सहकारी सम्मेलन गर्न लागेका छौं,यसको तयारी अन्तिम चरणमा पुगेको छ । प्रत्येक जिल्लाबाट विभिन्न प्रकृतिका सहकारी संघ\ संस्थाका प्रतिनिधिहरुले सम्मेलनमा सहभागी हुन नाम दर्ता गराइराख्नु भएकोे छ । आजसम्म हामीले नाम दर्ताको समय दिएका थियौं । हामीले सोचे भन्दा उत्साहजनक तरिकाले दर्ताको भएको छ । सम्मेलनमा भाग लिन बचत ऋण सहकारीसँगै कृषि, बहुउद्देश्यीय,दुग्ध, पर्यटन लगायतका सहकारी संस्थाहरुले स्वतःस्फुर्त रुपमा नाम दर्ता गराएका छन् । यसबाट हामीलाई थप उत्साह मिलेको छ ।
सानो पूँजी भएका संस्थाहरुलाई पनि प्रदेशको सम्मेलन कस्तो हुन्छ, के कस्ता विषयहरु उठान हुन्छन् र निष्कर्ष के निस्कन्छ भन्ने कुरा देख्ने र सुन्ने अवसर सम्मेलनले दिनेछ । खासगरी सम्मेलन धेरै हुने गर्छन । तर सम्मेलनबाट के निचोड निस्कन्छ र सहभागीहरुले कति सिक्न सके भन्ने कुराले नै अर्थ राख्छ । यसमा हामीले ध्यान दिएका छौं । सोही अनुसारको विषयवस्तु र प्रस्तोताहरु छनोट गरेका छौ । हामीले सामाजिक सञ्जाल मार्फत सम्मेलनको विषयवस्तु र प्रस्तोताहरुको बारेमा प्रचार गर्न थालेसँगै सहभागीहरु थप उत्साहित भएर नाम दर्ता गराइराख्नु भएको छ । सम्मेलन हुनु नौलो कुरा होइन, सम्मेलनले निरन्तरता पाइराखेको हुन्छ । राष्ट्रिय सहकारी महासंघ, नेफस्कून र विषयगत संघहरुले पनि समय -समयमा सम्मेलन गर्ने गरेका छन् । यो संघ स्थापना भएको ५ बर्ष भयो र सम्मेलन मार्फत यस अघि भएका कामको समिक्षा गरी प्रादेशिक सहकारी अभियानलाई कता डोर्याउने भनेर मार्गचित्र कोर्नको लागि सम्मेलन आयोजना गरिएको हो । यो सम्मेलन निरन्तरता नभई सुरुवात मात्र हो । प्रादेशिक सहकारी अभियानको यो पहिलो सम्मेलन हो । आवश्यकताले सुरुवातको निर्धारण गर्छ । हामीले आवश्यकता महशुस गरेर नै सम्मेलन आयोजना गरेका हौं ।
त्यसैगरी सहकारीको मौलिकता प्रदर्शन हुनुपर्छ,सहकारीले पैसा किन्ने र पैसा बेच्ने मात्रै काम गनुहुँदैन । सदस्यले सहकारीबाट लिएको ऋणले के गरिराखेका छन्,उद्यमशीलता वा अन्य कुन क्षेत्रमा लगानी गरेका छन् । त्यसबाट के उपलब्धि प्राप्त भएको छ । ती कुरालाई पनि सम्मेलनमा देखाउने तयारी हाम्रो छ । बागमती प्रदेश उत्पादनको लागि पनि प्रख्यात छ । तातो हावापानी भएको चितवन, मकावनपुरदेखि लिएर चिसो हावापानी भएको दोलखा रसुवा यसै प्रदेशमा छन् । ती जिल्लाको विशेषता अनुसार सहकारी मार्फत के- के उत्पादन भइराखेको छ । ती वस्तुको प्रदर्शनी र सफलताको कथा समेत सम्मेलन मार्फत उजागर गर्न खोजिएको छ । यसले गर्दा उत्पादनसँग जोडिएका सहकारीका लागि सम्मेलन असाध्यै फलदायी हुने हामीले आँकलन गरेका छौं । सम्मेलनलाई क्रम भंग मात्र नभई एउटा छलाङ्गको रुपमा हामीले लिएका छौं । सहकारीहरुमा समस्या आएको २/३ बर्ष भइसक्यो र समस्या मथर भएर जाने क्रममा छ । अध्यादेश मार्फत सहकारीको कानुन हेरफेर भएको छ । अध्यादेश मार्फत हेरफेर भएका विषयहरुलाई पनि सम्मेलनमा प्रस्तुत गरिने छ र अब सहकारी क्षेत्र कसरी अगाडि बढ्नुपर्छ भनेर वृहत रुपमा छलफल गर्ने मञ्च आवश्यक परेको बेलामा सम्मेलनमा ती विषयमा पनि प्रस्तुतिकरण हुनेछ ।
तीनै तहका राज्य संरचनाको सहकारी हेर्ने सरकारी निकाय र सहकारी अभियानको चेनअफ कमान्डमा बसेका तहबीच एउटै छानामुनि बसेर सहकारी क्षेत्रका विषयमा गहन छलफल गरी यस क्षेत्रको उननयको लागि के गर्न सकिन्छ भनेर आगामी दिनको लागि मार्ग प्रशस्त गर्ने भएकाले सम्मेलनलाई प्रभावकारी मञ्चको रुपमा लिइएको छ । समाजमा सहकारीप्रति गलत बुझाई विधमान रहेको छ । सहकारी क्षेत्रमा लागेका व्यक्तिलाई अर्कै दर्जाको मान्छेको रुपमा हेर्ने अवस्था सृजना भएको छ । त्यसलाई चिर्न र सहकारी क्षेत्र अझै पनि राम्रो छ, सहकारीले समाजमा अझै पनि थुप्रै काम गर्न सक्छ भनेर सन्देश दिन पनि सम्मेलन सहयोगी बन्नेछ । सम्मेलनमा सहकारी संस्थाका सञ्चालक, कर्मचारीदेखि लिएर अभियान्ता सहभागी हुने भएकाले यसलाई कुम्भ मेलाको रुपमा लिइएको छ । गहन छलफल र विषयवस्तुमा वृहत मनथन गरेर जुन निष्कर्ष निस्कन्छ । त्यसबाट घोषणापत्र तयारी गरी आगमी ५ बर्षको लागि बागमती प्रदेशको सहकारी अभियानको लागि मार्गनिर्देशकको रुपमा काम गर्नेछ ।
आगामी ५ बर्षमा सहकारी अभियानलाई सुद्धढ र सुव्यवस्थित अभियानको रुपमा लिएर जाने योजना रहेको छ । बागमती प्रदेशमा रहेका १३ वटा जिल्लाका ८० वटा संघका साथै बागमती प्रदेश संघले सदस्यता लिएको राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक,नेफस्कून र विषयगत संघहरुको सहभागितामा यस क्षेत्रको समस्या र निराकरणको उपायहरु खोजी गरिनेछ । विषय विज्ञ, पारम्भिक सहकारी संस्थाका सञ्चालक र कर्मचारीबाट प्राप्त सुझावहरुलाई समेत समेटेर घोषणा पत्र जारी गरी सहकारी अभियानलाई सुद्धढ बनाउन लागि यो सम्मेलन कोसे ढुङ्गा सावित हुने हाम्रो विश्वास छ । यो संघ पाँच बर्षदेखि चलिरहँदा थुप्रै आरोह अवरोह खेपेको छ । कोभिड -१९ महामारी र विश्वमा भएको युद्धको प्रभावले मुलुकमा आएको आर्थिक मन्दीले सहकारी क्षेत्रलाई समेत समस्यामा पारेको छ । यस्तो अवस्थामा आयोजना हुन गइरहेको सम्मेलनले सहकारी अभियानलाई सकरात्मक दिशा दिने विश्वास हामीले गरेका छौं । बागमती प्रदेशमा रहेका ११९ तहमा सहकारीको नियमनको अवस्था,सहकारी सञ्चालनको क्रममा देखिएका समस्या र निराकरणको उपायदेखि सहकारी मार्फत भएका सफलतालाई सम्मेलनमा उजागर गरिनेछ । कुराकानीमा आधारित
नेपालपत्र संवाददाता