आइतबार, कार्तिक ९ गते २०८३

ज्योति मिर्मिरे सामुहिक साकोस २५औं वर्षमा प्रवेश, सदस्यहरुलाई गर्यो सम्मान


फाल्गुण २०, २०८१ मंगलबार
ज्योति मिर्मिरे सामुहिक साकोस २५औं वर्षमा प्रवेश, सदस्यहरुलाई गर्यो सम्मान

काभ्रेपलञ्चोकको पनौतिमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था २५औं वर्षमा प्रवेश गरेको छ । २५ औं बर्ष प्रवेश गरेको अवसरमा संस्थाले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । संस्थाको मुख्य कार्यालयमा  संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता र भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

 सो अवसरमा बोल्दै मन्त्री अधिकारीले सविधि विपरीत गलत क्रियाकलाप गर्ने सहकारी सञ्चालकसमेतको सम्पत्ति जफत गरेरै भए पनि पीडितको बचत रकम फिर्ता गर्ने  बताए । समस्याग्रस्त सहकारी समाधान समिति तथा सहकारीे विभागले सहकारीको समस्या समाधानार्थ काम गरिरहेको मन्त्री अधिकारीले बताए । केही नमिलेका विषयलाई प्रतिस्थापन विधेयकले सम्बोधन गर्नेसमेत उनले जनाए । केही महिनामै ६ हजार ६ सयभन्दा बढी बचतकर्ताको रकम फिर्ता गराइसकेको र अब छिट्टै केही बचतकर्ताको रकम फिर्ता गर्ने चरणमा रहेको उनले जानकारी दिए । 

कार्यक्रममा उत्कृष्ट शैक्षिक व्यक्तित्व रामप्रसाद अधिकारी, विशिष्ट सदस्य सम्मान अन्तराष्ट्रिय स्वर्णपदक विजेता केशव थापा, उत्कृष्ट सदस्य सम्मान जयराम तिमल्सिना, दीर्घसेवा पदकबाट कर्मचारी सुनिता हुमागाइ र साधुराम थापा, संस्थाका छोराछोरीमध्ये एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, पुर्व कर्मचारी, जेष्ठ सदस्य, पुर्व सञ्चालक र संस्थापक सदस्यलगायत ३५७ जनालाई विभिन्न विधामा सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, वागमती प्रदेश वचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिवस खड्का, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठलगायतले शुभकामना मन्तब्य राखेका थिए । 

करिब २१ हजार सदस्य रहेको संस्थाले ६ वटा संस्था एकीकरण गरी कारोबार गरिरहेको संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिए । उनले हाल विभिन्न ८ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको  बताए । सदस्यहरुको आर्थिक् तथा सामाजिक रुपान्तरणमा सहकारीले उल्लेख योगदान गरेको उनको भनाई छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।

481330176_122198648444246977_7835930770744998855_n.jpg