आइतबार, आश्विन १८ गते २०८३

मेगा ड्रिम बहुउद्देश्यीय सहकारीमा सदस्यको अर्बौ बचत जोखिममा,यसरी भयो कर्जा दुरुपयोग

फाल्गुण १७, २०८१ शनिबार
मेगा ड्रिम बहुउद्देश्यीय सहकारीमा सदस्यको अर्बौ बचत जोखिममा,यसरी भयो कर्जा दुरुपयोग

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुले सहकारी मूल्य, मान्यता र सिद्धान्त विपरित नीजि व्यवसाय र जथाभावी लगानी गर्दा सदस्यहरुको बचत जोखिममा परेको छ । संस्थाका सञ्चालकहरुको मिलेमतोमा उनीहरुले सञ्चालन गरेको परियोजना र आफुखुशी ऋण लगानी गरेका कारण सदस्यहरुको बचत जोखिममा परेको हो ।

संस्थाका केही बचतकर्ताहरुको ६ महिना देखीको प्रयासबाट बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय ( कानुन तथा फैसला शाखा) ले रजिष्ट्रार स्तरको निर्णयले बचत फिर्ता समन्वय समिति गठन गरिदिएको छ । समितिका संयोजक रहेका बिनोद शम्सेर कुवरले संस्थाले ऋण लगानी गरेको कागजपत्र  तथा तमसुक हेर्ने क्रममा संस्थाका सञ्चालकहरुको मिलेमतोमा विभिन्न समयमा विभिन्न शिर्षकमा कर्जा लगानी भएको र  कर्जा अपचलन भएकाले संस्थामा समस्या उत्पन्न भएको बताए । संस्थाको बचतलाई सहकारी मूल्य, मान्यता र सिद्धान्त विपरित सञ्चालक समितिको बदनियतपूर्ण निर्णयका साथ ठुलो रकम लिम्पिया नेशनल स्कुलमा लगानी गरेको पाइएको उनले जानकारी दिए । स्कुलका कोषाध्यक्ष तथा प्रिन्सिपल मदन राज रेग्मी,सञ्चालक समिति अध्यक्ष वासुदेव भट्ट,उपाध्यक्ष महाशंकर रेग्मी,सचिव इन्द्र प्रसाद गेलाल, सदस्यहरु उमाकान्त न्यौपाने, शेखर बस्नेत र रविन कुमार कार्कीको सामुहिक जमानीमा झन्डै १७ करोड रुपैयाँ लगानी भएको पाइएको छ ।

स्कुल दैनिक रुपमा सञ्चालन भए पनि हालसम्म १ रुपैयाँ पनि साँवा ब्याज भुक्तानी नभएको उनको भनाई छ । त्यसका साथै संस्थाको ठुलो रकम संस्थाका तत्कालिन अध्यक्ष महाप्रसाद रेग्मी आफैको २० प्रतिशत शेयर रहेको कम्पनी एस. डि.जि. ग्लोबल इम्पोर्टस् प्रा.लि. लाई २०७७ साल कार्तिक २ गते रेग्मी र कम्पनीका संचालक अमृता श्रेष्ठलाई २० करोड लगानी गरेको भए पनि उक्त ऋणको साँवा ब्याज अहिलेसम्म भुक्तानी भएको छैन । तर सम्बन्धित ऋणीले संस्थाको नाममा २५ करोड रुपैयाँको चेक संस्थालाई बुझाएको भएपनि तीन पटक बैंकमा दाखिला गराउँदा समेत खातामा प्रयाप्त रकम नभएकाले चेक वाउन्स गरिएको देखिन्छ । उक्त कम्पनीलाई कारवाहीको लागि सम्वन्धित निकायको ध्यान नगएकोमा उनको आपती छ । त्यसका साथै ठुला घर जग्गा व्यवसायीहरु गुरु प्रसाद तिमल्सिना र होम प्रसाद निरौला, नर बहादुर सिंह,सुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका हालका कोषाध्यक्ष नरिहरि प्रसाद उपाध्याय, उपाध्यायको पत्नि तथा  भाईको नाममा करिब १८ करोड ऋण लगानी देखिएको छ ।

त्यसैगरी किशोर कायस्थ र उनको परिवारको नाममा ६ करोड, संस्थाका कोषाध्यक्ष रविन कुमार कार्की तथा कार्कीका दाजु भाउजुको नाममा १३ करोड,संस्थाका सञ्चालक समिति सदस्य शेखर बस्नेत, उनको पत्नि र भाईको नाममा करिब ५ करोडका साथै मिश्रव कृषि फार्म पा. लि.को नाममा २० करोड ऋण तमसुक रहेकोमा हाल ६ करोड बाँकी रहेको देखिएको छ । संस्थाका लेखा सुपरीवेक्षण समिति सदस्य प्रकाश घिमिरेको नाममा पनि करिव २ करोड विना धितो ऋण वदमासीपूर्ण तरिकाले लगानी गरेको समितिको भनाई छ । त्यसका साथै संस्थाका ठुला ऋणीहरु ध्रुव प्रसाद न्यौपाने,शम्भु थापा,शिव चौलागाई,ओम प्रकाश,भरत बहादुर कडायत,गणेश बहादुर चलाउने,कृष्ण बहादुर खत्री,खगेन्द्र लाल देव,कुल बहादर शाही , विष्णु बहादुर घिमिरे,सन्तोष राज भन्डारी लगायतका ऋणहरुले समयमा ऋणको साँवा ब्याज भुक्तानी नगर्दा पनि संस्था वित्तीय संकटमा परेको पाइएको छ ।  संस्थाका कर्मचारीहरु दिपक राज ओझा,दिपक वि.क.गुन्ज बहादुर शाही,अनिल थापा, अशोक जोशी,वकिल बहादुर शाहीले समेत कर्जा अपचलन र पदको दुरुपयोग गरी संस्थालाई हानी नोक्सानी पुन्याएको पाइएको छ । स साना कर्जा लगेका सदस्यहरुलाई फोन गरेर कर्जा भुक्तानीको लागि अनुरोध गर्दा संस्था बन्दा भए पश्चात पनि कर्मचारी सन्तोष गजुरेललाई रकम बुझाएको उक्त समितिले फेला पारेको छ ।

तर गजुरेलले उक्त रकमलाई संस्थामा दाखिला नगरेकाले समितिले कार्वाहीको माग गरेको छ । अब कर्जा भुक्तानी गर्दा सदस्य स्वंय संस्थामा उपस्थित भई बचत फिर्ता समन्वय समिति मार्फत भुक्तानी गर्न समेत आग्रह गरिएको छ । संस्थाले कुनै वैधानिकता विना लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थालाई समेत मर्जर गरेको र सो संस्थाका अध्यक्ष सहदेव तिमल्सिनाले समेत सञ्चालकसँगको मिलेमतोमा विना धितो ६ करोड ऋण लिएको पाइएको छ । संस्थाका सम्पूर्ण बचतकर्ताले समन्वय समितिलाई सहयोग गरी लक्ष्य प्राप्तिमा सघाउन उनको आग्रह छ  । त्यसका साथै संस्थाबाट ऋण लिएका र ऋणीको जमानी बसेकाहरुले समेत ऋणको साँवा ब्याज भुक्तानी गरी सदस्यको बचत फिर्ता गर्ने वातावरण बनाउन सबैलाई कुवरको आग्रह छ । 

 

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता