दिउँसो मध्यान्ह बाह्र एक बजेको थियो। हामी तीन भाई खान बसेका थियौँ भुइँमा पिर्कामाथि। उसबेला कुर्सीमा बसेर टेबुलमा थाल राखेर भात खाने चलन थिएन। माटाका चुला हुन्थे र दाउरा बालिन्थे। घरमुली हजुरआमा हुनुहुन्थ्यो सबै खटनपटन उहाँकै थियो हजुरबाले घरको लोग्ने मान्छेको शाख राख्नु भएको थियो ।
उत्तर तिर दैलो फर्केको फुसको भान्सा घरमा पश्चिमतिर माटाको चुलो थियो। काँसको कसौंडीमा निकै पहिला नै भात भर्सिसकेको थियो। त्यसको चामल ढिकीमा कुटेर दुई चार छाकका लागि तयार पारिन्थ्यो। एउटी छिमेककी तेलिनी घरको काममा सघाउँथी र खाने सामल लिएर जान्थी। बेलाबेलामा उ गुन्द्रुक माग्न आउँथी त्यसलाई उ सिम्को भन्थी।
अँ, हामी एकलहर चुलोतिर फर्केर बसेका थियौँ, उत्तरबाट दक्षिणतिर। पहिलो म सन्तोष दोस्रो मेरो माइलो भाइ आनन्द (उसको बैकुण्ठ बास होस्), अनि छेउमा साँइलो भाइ उत्तम। उत्तम यस्तै नौ बर्षको थियो। हामीले गिल्टीको गिलासमा पानी लिएका थियौं भात खाँदा गला नलागोस् भनेर।
यो हाम्रो बुढो घर थियो र दिनभरि चकमन्न हुन्थ्यो। बिहान हजुरबाले गरेको एकावर्त रुद्रिपाठ र पित्री तर्पणको कलकल आवाजले आँगन र वातावरण नै अभिमन्त्रित हुन्थ्यो। इदमनलेपनम् हरिचन्दनम् भन्दै पाठ गरेको सम्झना आउछ।
यता हजुरआमा दिउँसो बाह्र बजे आसपास सिलेवरे डोल बोकेर कुवामा नुहाउन निस्कनु हुन्थ्यो। दिवास्नानपछि लामालामा मन्त्रोच्चारण गर्दै घर आउनुहुन्थ्यो र पूजाभाँडा मस्काउनु हुन्थ्यो र चुलो आगो जोर्नु हुन्थ्यो। भात पाकेर खान बस्दा बाह्र देखि एक बजिहाल्थ्यो। आज पनि भात कुर्दा त्यस्तै साढे बाह्र त बजेकै हुँदो हो। बिहानको खाजा खाने चलन थिएन।
नयाँ धानको भएकाले भात अलि गिलो हुन्थ्यो र पस्किँदा चोइली पर्थ्यो। पित्तलको पन्यूले हजुरआमाले केही चोइली भात हामी सबैका थालमा राखिदिनुभयो। शायद बारीको सिमीको तरकारी थियो जसमा झोल हालिएको थियो। एकपटक हामी सबैले भात थप्यौं । म बुझ्ने भइसकेको थिएँ, माइलो भाइ आनन्द पनि बुझ्थ्यो तर साइँलो उत्तम अलि सानै थियो। उसले फेरि भात माग्यो, हजुरआमाले पातला दुई चोइली थपिदिनुभो। उसले त्यो केही गाँसमै सक्यो र फेरि भात माग्यो। हजुरआमा कराउनु भो, “कति बिघ्न खानसकेको एस्लेरु” हामी दुईले चैं गिलासको पानी खाएर भूँडीको बाँकी भाग भरेका थियौँ। पानी त साइँलोले पनि खाएकै थियो तर उसको भूँडी भरिएको थिएन। उसले नबुझेको देखेर मलाई पनि उसित झ्वाँक नचलेको हैन, भात नमागिदिए हुन्थ्यो भन्ने हामी दुई भाइलाई लागेकै हो। तर भातका चोइली निकै पातला थिए भन्नेमा बिबाद थिएन।
मुर्मुरिदै पातला दुई चोइली थपिदिर फन्केर हिँड्नुभो हजुरआमा। त्यो बालकले केही नबोली त्यो भात खायो र हामी संगै उठेर मुख चुठ्यौं। बिहान भोकै हिड्नु मनासिव थिएन त्यसैले मध्यान्हसम्म हामीले भात कुर्नु परेको थियो। साइँलोको मन हजुरआमादेखि सदाका लागि कुँडिएको दिन थियो त्यो। पछि उ सायद त्यहाँ भात खानेगरि कहिल्यै बसेन कमसेकम मैले जानेसम्म।
हामी आफ्नो घर लहान लाग्यौं बाटामा बलान खोला तरियो त्यो खोलाको बलौटे फाँट कैल्यै नसकिने, छिमेकी मुग्लानेले सबै खस्रा बालुवा र गिट्टी खनेर सकेछन्। गोबिन्द पुर आयो र गयो, यो निकै ठुलो गाउँ बलान खोलादेखि मुतुनी जङ्गलसम्म लमतन्न परेर सुतेको जस्तो लाग्यो। मान्छे पल्याकपुलुक हेर्थे हामीलाई हामी पनि बोलेनौं उनीहरू पनि बोलेनन्। हामी मुतुनी जङ्गल पुग्यौं। यो गजबको नाउँ हुनुका पछाडि एउटा किंवदन्ती रहेछ, निकै पछि थाहा भयो। श्री ३ जङ्ग बहादुर घोडा चढेर आएछन् र खोलाबीचमा उनलाई सु आएछ अनि वर्लेर पिसाब बस्ने बेला “खोला फर्की१” भन्दा खोला उल्टो बगेछ। त्यस समयदेखि यो मुतुनी खोलाको नामले चिनिन्छ। किंवदन्ती हो।
मुतुनी जङ्गल बीचतिर पुगेपछि मैले मौनता भङ्ग गर्दै भनेँ, ”उत्तम, आज हजुरआमाले राम्रो गर्नुभएन हगि ! ” आनन्द पनि अघिसम्म मौन थियो। उसले थप्यो, ”हजुरआमाले नराम्रो गर्नुभो।” मेरो साइँलो भाइले मात्र थोरै बोल्यो, ”ठिकै छ नि।“
उसको यो सहज प्रतिक्रियाले मलाई पनि ब्यङ्ग्य गरेको थियो। मैले उसको पक्षमा हजुरआमालाई केही त भन्नैपर्थ्यो। घर पुगेपछि बा र आमाले थाहा पाउनुभयो र गहभरि हुनुभो।
अहिले साइँलोको जीवन उत्तम छ, छोरा छन् बुहारी छन् अनि नाति छ, भर्खरै जन्मिएकी एउटी नातिनी छ। उसको काठमाडौँ शहरमा घर छ र त्यस घरमा प्रशस्त खानेकुराहरू छन्।
हजुरआमा निकै कष्ट पाएर बित्नुभयो। ती बडेमानका धानखेतका धानले कहिल्यै कसैलाई खान पुगेन। बण्डा भो, बेचिए, केही बाँकी होलान्।
फेब्रुअरी १७, २०२५। पूर्व नेपाल।
(पोखरेल अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बहुभाषिक साहित्यकार हुन्)