बुधबार, भाद्र ३ गते २०८३

अटोमेशन र एआईको विकासले दर्शाएको आमूल परिवर्तनको आवश्यकता


माघ २४, २०८१ बिहीबार
अटोमेशन र एआईको विकासले दर्शाएको आमूल परिवर्तनको आवश्यकता
 
 
एआई अर्थात आर्टिफिशियल इण्टेलिजेन्स र अटोमेशन अर्थात उच्च स्वचालनको उदय अब बिश्वमा भबिष्यको अबधारणाको बिषय रहेन ।यो दैनिक जीवनकै अभिन्न उपकरण बनेर प्रस्तुत हुन थालिसक्यो । फलतः यसले बिश्वभरीका अनेक उद्योगहरुमा एउटा नयाँ क्रान्तिकै अपूर्ब जग स्थापित गरिसकेको र गरिरहेको देखिन्छ । स्वास्थ्य सेवाहरुदेखि लिएर बित्तीय सेवाहरुसम्म यस प्रबिधिले मानिसको भबिष्य बद्लिन थालेको छ । यसले प्रत्येक क्षेत्रमा नबीन र बद्लिदो कौशलताको आवश्यकता प्रष्टसँग औंल्याइदिएको छ र ठूलो परिबर्तन भइरहेको छ । यस प्रकारको निरन्तर तीब्र गतिमा परिवर्तन हुँदै गइरहेको बर्तमान बिश्वमा प्रौद्योगिकीमा नयाँ कौशल, सीप र ज्ञानको आवश्यकता सर्बत्र अझ बढ्न गएको  छ । 
 
बर्तमान समयमा प्रबिधिको नबीन र त्वरित बिकासको गतिकसाथसाथै बिश्वभरी नै एआई अर्थात आर्टिफिशियल इण्टेलिजेन्सको र उदाउँदा अन्य प्रबिधि कौशल सुसज्जित बिशेषज्ञको माग पनि तीब्रतररुपमा बढ्न थालेको छ ।यस सम्वन्धमा बिश्व आर्थिक मञ्च अर्थात ‘वल्र्ड इकोनोमिक फोरम’ले आजभन्दा पहिले नै अनुमान लगाएको थियो कि यो शुरु भएको बर्ष २०२५ ससम्ममा एआई र मेशिन लर्निङ्गले, बिश्वभरीमा  १० करोड  नयाँ रोजगारीको सिर्जना गर्ने छ  । यसका अतिरिक्त आईडिसी अर्थात ‘इण्टरनेशनल डाटा कर्पोरेशन’को एउटा प्रतिबेदनले के पनि अनुमान लगाएको थियो भने आजभन्दा दुइ बर्ष अघि  बर्ष २०२३ सम्ममानै एआईमाथि बिश्वको खर्च ९७.९ अर्ब डलरसम्म पुगिसक्छ । त्यो तथ्यांकले त्यसपछिका यताका बर्षहरुमा यस क्षेत्रमा असाधारणरुपले अझ बढी खर्च र अझ बढी नयाँ रोजगारीको सिर्जनमा अभिबृद्धि हुने सम्भावानालााई स्पष्ट दर्शाएको  थियो । 
 
यस स्थितिमा बिश्वका अनेक सशक्त कम्पनीहरु उदाउँदो प्रबिधिमा कुशल कार्यबल(वर्कफोर्स)को उपलब्धताका कारण बिकसित र श्रोत साधन तथा कौशल–सम्पन्न  देशहरुसँग मिलेर काम गर्ने, आफ्नो कौशललाई अझ बिकसित तुल्याउने, मूल्यबान अनुभव प्राप्त गर्ने अवसरको सदुपयोग गर्ने दिशामा अग्रसर देखिन्छन् । बिशेषरुपले अटोमेशन र एआईको उदाउँदो आजको यस अति उन्नत र नबीनतम प्रबिधिले बिश्वभरी नै कामको स्वरुप र प्रबृत्तिलाई बदलिदिएको छ । समग्र कौशल बिकासका प्रबृत्तिहरुलाई ध्यानमा राखेर बिश्वका बिभिन्न सरकारहरु, शैक्षिक संस्थाहहरु र औद्योगिक इकाईहरु एक साथ खडा हुनुुपर्ने आवश्यकता महसुश गर्दै त्यसतर्फ अग्रसर देखिन्छन् र कौशल बिकासको नबीन र परस्पर अन्तरनिर्भर सबल इको–सिस्टमको निर्माण हुन सक्ने स्थिति देखिदैछ । यसले केवल कुशल कार्य गर्ने क्षमता सम्पन्न शक्ति अर्थात निपूण कार्यबल निर्मित मात्र हुने होइन यसले त उच्चतर आर्थिक सम्बृद्धिकासाथसाथै समग्र बिकासका अनेक कृयाकलापहरुमा पनि अपूर्ब योगदान दिने कुरा आज दैनिकरुपमै जस्तो मूख्य चर्चाको बिषय बनिरहेको यथार्थ छ । 
 
तर हाम्रो देशमा भने यूवा रोजागारीका लागि गन्तब्य देशको खोजी गर्ने र त्यसकै आधारमा चल्ने तथा भिखमंगा किसिमले द्ररिदतालाई च्यापेर हिड्ने हीन ग्रन्थी र गलत प्रबृत्ति नै हावी बनेर रहेको  छ । देशको रणनीतिक अबस्थिति, ठूलो जैबिक बिबिधता र प्रचुर बिकास सम्भावनालाई यसरी बेवास्ता गर्दै अरु देशको तीब्र बिकास र प्रगतिको रमिता हेरेर बस्ने र केही नसिक्ने मरणोन्मुख बाटोमा कहिलेसम्म घिस्रिने हो ? अहिलेसम्म कुनै अत्तोपत्तो छैन । शायद ‘मति बिग्रेपछि  गति पनि बिग्रन्छ’ भन्ने कुरा यसरी हाम्रै देशमा चरितार्थ हुँँदै आइरहेको र भइरहने छ । 
 
प्रचुरतम सम्भावना भएको जीवनदायनी कृषि क्षेत्र, जलश्रोत र पर्यटनलाई एकीकृतरुपमा सञ्चालन गर्ने समय सारिणी सहितको जनमुखी, परिणामदायी   रणनीतिक बिकास योजना, कार्यक्रम र  नीति निर्माण गरेर कार्यान्वनयमा जाने  बाटो दृढतापूर्ब पक्रिने हो भने नेपाललाई पर्याप्त मात्रामा आत्मनिर्भर बनाउँन, रोजगारी पैदा गर्न र देशलाई समुन्नतिको सही बाटोमा अघि सार्न सकिने दीगो आधार तयार पार्न अबश्य सकिन्छ । तर यतातिर राज्यका प्रमुख र जिम्मेवार अंग प्रत्यंगहरु कत्ति पनि तल्लिन छैनन् । वास्तवमाा राज्यका ती अंगहरु भ्रष्टाचारको चरम चुलीमा पुगेर चुर्लुम्म डुबिसकेको हुनाले उनीहरुको बुद्धि र बृत्ति पनि भ्रष्ट भइससकेको या भइरहेको र तिनको मूल ध्याउन्न पनि बिभिन्न किसिमका डरलाग्दा भ्रष्टाचार, संगठित मानब तस्करी, कमिशनखोरी, घुसखोरी, सुदखोरी र कालोबजारी बाहेक अरु केही नभएको आजको स्थितिले दिनदिनै प्रष्ट पारिरहेको छ ।
 
हल्का किसिमले ‘ब्यवस्था फेरिए पनि अवस्था फेरिएन’ भनेर जनतालाई वास्तविकताबाट टाढा राख्ने र अल्मल्याउने प्रपञ्च चलाउने तथा पुराना ब्यबस्थाका सबै प्रकारका भ्रष्ट, कुरुप र त्याज्य सबै गलत कुरा अंगीकार गरेर पुरानो सामन्ती ब्यवस्थालाई नब सामन्ती ब्यवस्थाको रुपमा चलाउने र यो गलत दिशामा सबै खालका पुराना रेकर्ड तोड्ने तीब्र प्रतिस्पिद्र्धा चलाउने गरिएको र चलिरहेको छ । राजनीतिक परिबर्तन जनताको आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा रहेका जनहित बिरोधी गलत परम्परा, प्रबृत्ति र प्रकृतिमा आमूल परिबर्तन ल्याउने र समानता,न्याय र समुन्नतिको अग्रतम बाटोमा अग्रसर गराउन लागि हो, हुनु पर्दथ्यो । तर ब्यहारमा जो राज्यको माथिदेखि  तलसम्मको कुर्सीमा पुग्छ या पुग्ने तारतम्य मिलाईन्छ तिनै सीमित माानिसहरुको मोज मस्ती र मनपरी नै लोकतान्त्रिक गणतन्त्र हो भन्ने ब्यबहारतः दर्शाउन खोजेको र दर्शाइरहेको आज प्रष्टै देखिन्छ । त्यसैले जनस्तरमा समग्रमा  एकमुष्ठरुपमा  ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने कथन आज आमरुपमै प्रचलित भएको  छ । यसले नै राज्यको चरित्र र स्वरुप कस्तो छ र कसरी चलिरहेको छ भन्ने कुरा दर्शाएको छ ।
 
निश्चय नै ब्यवस्थामा खोट छ, ब्यवस्थाका सञ्चालक र सम्वाहकमा खोट छ र त्यसको परिणाममा पनि खोटै निस्किन्छ भन्ने कुरा स्वतः सिद्ध छ । नेपाली समाजमा आमूल परिबर्तन भएको छैन र अहिलेसम्मका सबै आन्दोलनहरु यथास्थिति आधार र त्यसैमा खडा भएका शक्तिहरुसँग सम्झौता गरेर टुंगिएका हुन् । त्यसैले परिबर्तनको सीमा र सामथ्र्य के कति हो भन्ने कुरा त्यसैले प्रष्ट पार्दछ । परिबर्तनको हैसियत भन्दा ठूलो यसको महिमागान गरेर यसले जनताका लागि आधारभूत बस्तु र सेवा अर्थात सुशासन  दिनसक्ने औकात बढ्ने होइन । तथापि त्यसै सीमा भित्र पनि दिन सकिने अभ्रष्ट र नैतिकतायुक्त तथा उत्तरदायित्वपूर्ण ब्यबहार मात्र गर्न सक्दा मात्र पनि सीमितरुपमा नै भए पनि सही कम्तिमा जनताले परिबर्तन आफ्ना लागि हो भन्ने झीनु  अनुभव महसुश गर्न सक्ने थिए । तर त्यो न्यूनतम सकारात्मक दिशामा पनि मुलुकलाँई डोर्याउने अहिलेसम्मका सत्ताका हर्ताकर्ताहरु देखिएनन् ।सत्ताको दुरुपयोग गरेर आफ्नो स्वार्थको गोरखधन्धा चलाउने तीब्र प्रतिस्पद्र्धाले मात्रै प्रचुर पश्रय पायो र चौतर्फीरुपमा पाइरहेको सर्बत्र लाजमर्दो अबस्था आज बिद्यमान छ । 
 
यस स्थितिले सारतः अग्रगामी  आधारभूत र आमूल परिबर्तनकै माग गर्दछ । अहिले बढेको ब्यापक असन्तोषलाई प्रतिगामी दिशामा धकेलेर जनता र राष्ट्रका लागि अपेक्षित  समुन्नति, सपेक्ष राजनैतिक स्थिरता र सामाजिक स्थाइत्व कदापि आउन सक्तैन र आउने कुनै आधार पनि कदापि बन्दैन । बिगतदेखि अहिलेसम्मका अनुभवहरुले यो एकदमै प्रष्ट पारेको र पारिरहेको अकाट्य कुरा हो । त्यसैले बिश्वमा आएका नबीनतम बैज्ञानिक र प्राबिधिक कौशलहरु या त देशमा प्रयोग नै हुन सक्तैनन् या राज्यको दुरुपयोग भए जस्तै तिनको पनि घोर दुरुपयोग हुन्छ । अनि समस्या समाधान हुनेभन्दा समस्या थपिने र जटील बन्ने परिणाम नै आउने कुरा निश्चित छ ।  त्यसैले कोरा ज्ञानका लागि एआई र अटोमेशनका बिकसित नबिनतम उच्च आधुनिकतम माध्यमहरुको चर्चा गरिए पनि र यसका सकारात्मक र नकारात्मक प्रभाव र परिणामका बारेमा बहस चलाए पनि यथार्थतः आजकै जस्तो यथास्थितिमा कुनै सकारात्मक परिणति  आउने आशा र अपेक्षा गर्न पटक्कै सकिन्न ।
 
यस स्थितिमा बरु बाह्य हस्तक्षेपका अरु थप गतिबिधिहरु अझ बढ्न जाने र देशमा परनिर्भताको पासो अझ कसिने स्थिति तीब्र हुने कुरा नै अहिलेसम्मको अनुभवले प्रष्ट पारेको र पारिरहेको यथार्थ छ । यो बास्तविकतालाई आत्मसात गरेर यसबााट सही दिशामा अघि बढ्ने उपायहरु के के छन् र कसरी देश र जनताई सही किसिमले सम्हालेर अघि बढ्न सकिन्छ आज बहस र ब्यवहार केन्द्रित गर्नुपर्ने मूल कुरा यही नै हो । जो हाथ, सो साथको पञ्चायत कालीन परम्परालाई सिंगारपटार गरेर चल्ने गलत मनोबृत्तिले आन्तरिक र बाह्य शोषण उत्पीडनलाई नै अझ बढाउँदछ भन्ने कुरा बुझेर पनि अनेक बहानामा नबुझे जस्तो गर्नु देश र जनताका लागि ठूलो धोका र घोर बेइमानी हो र हुन्छ । अति भए पछि खति हुन्छ भन्ने पूर्खाका अनुभव सिद्ध सही कुरालाई समय छँदै बुझ्नु जरुरी छ । अन्यथा सर्बत्र दुःखत दुर्गति नै हाम्रो नियति बन्ने कुरा रोकिने छैन । खबरदार !