शुभकामना बचत तथा ऋण सहकारी संस्थाले “स्ट्रोक सम्बन्धी सचेतना कार्यक्रम” आयोजना गरेको छ । संस्थाले रजतवर्ष २०८१ को अवसरमा शिक्षा उपसमिति र सामाजिक क्रियाकलाप उपसमितिको संयुक्त आयोजनामा सक्षम हेल्थ केयर एण्ड रिहाविलिटेशन सेन्टरको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा स्ट्रोक सम्बन्धी बरिष्ठ डक्टर न्युरो सर्जन नरेन्द्र सालिकेबाट सहजीकरण गरिएको थियो । उनले स्ट्रोक के हो ? र कसरी हुन्छ , यसको लक्षण र रोकथाम तथा उपचार बारेमा विस्तृत जानकारी गराएका थिए । यस रोगका बिरामीहरु बढ्दै गइरहेको हुनाले यस सम्बन्धी जानकारी लिई समयमै रोकथाम गर्नका लागि विशेष ध्यान दिनु पर्ने उनको भनाई छ ।
शिक्षा उपसमिति संयोजक सृजना कोजूले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्देश्य माथि प्रकाश पारेका थिए । संस्थाका सचिव पुष्पलाल तिमिलाले शुभकामना साकोसको संक्षिप्त परीचय दिदै संस्थाले सदस्यहरुसँग वित्तिय कारोबारका साथसाथै सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको बताए । यसै अनुरुप सदस्यहरुको स्वास्थ्य सम्बन्धी शिविर तथा सचेतना कार्यक्रमहरु पनि गर्ने गरेको उनको भनाई छ । संस्थाका प्रबन्धक रेश्मी श्रेष्ठले संचालन गरेका सो कार्यक्रममा उपस्थिति सदस्यहरुले कार्यक्रम उपलब्धिमूलक रहेको प्रतिक्रिया दिए ।

नेपालपत्र संवाददाता