मंगलबार, कार्तिक ११ गते २०८३

ललितपुर बचत संघद्वारा सुझाव सकलन, बचतको सीमा अवैज्ञानिक भएको भन्दै संशोधनको माग


माघ १८, २०८१ शुक्रबार
ललितपुर बचत संघद्वारा  सुझाव सकलन, बचतको सीमा  अवैज्ञानिक भएको भन्दै संशोधनको माग

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आज एक कार्यक्रमको आयोजना गरी सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी निर्देशन र मापदण्डको मस्यौदाको विषयमा सुझाव संकलन गरेको छ ।  संघका अध्यक्ष रामहरी बजगाईले सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको लागि जारी गरेको निर्देशन र मापदण्डका विषयमा तीन महले प्रस्तुत गरेका थिए । उनले सरकारले ल्याएको  अध्यादेशले सहकारी क्षेत्रलाई संकुचन गर्न खोजेको भन्दै संशोधनको लागि जिल्लामा रहेका सहकारी संस्थाबाट सुझाव संकलन गरिएको बताए ।

अध्यादेशमा राम्रा भन्दा पनि नराम्रा कुरा धेरै आएको भन्दै उनले  संशोधनको विकल्प नभएको बताए । सहकारी क्षेत्रलाई कस्ने मात्र नभई संरक्षण गर्ने खालको कानुन बन्नेमा आफु आशावादी रहेको भन्दै बजगाईले तर त्यो अनुरुपको कानुन नआएको  उल्लेख गरे । सहकारी महासंघ र केन्द्रीय संघका  लिडरहरु नै यो विषयप्रति गम्भिर नभएको उनको टिप्पणी छ । उनले भने,‘जो जो  जुन ठाउँमा बसेर जे जे काम गर्नुपर्ने थियो,त्यो काम भएको देखिएन । उहाँहरु मन्त्री कहाँ जाँदा एउटा कुरा भन्नुहुन्छ भने सचिव कहाँ अर्कै कुरा भन्नुहुन्छ । अभियानको बिचमा तपाई हामी मिलेर अगाडि बढ्नुपर्छ पनि भन्नुहुन्छ । यो खालको दोयध चरित्र भएका  लिडरहरु हामीले अभियानमा जन्माउन सफल भयौ, यसको समिक्षा भविष्यमा गरौंला ।’ प्रारम्भिक संस्थालाई राम्रोसँग सञ्चालन गरेका र सदस्यहरुको मन जितेका लिडरले अभियानको नेतृत्व गर्यो भने मात्रै अभियान व्यवस्थित हुने उनको दावी छ ।

अध्यादेश जारी हुन पाको छैन कतिपय अभियान्ताले यसलाई स्वागत गरेकोप्रति उनले टिप्पणी गरे । हामीले विरोध गरेपछि  स्वागत गर्ने अभियान्ताहरु बरवाद भएछ भन्दै फेरी  विरोधमा उत्रिएको उनले जनाए । कार्यक्षेत्रको आधारमा बचत सीमा तोक्नु अवैज्ञानिक भएको भन्दै उनले कुल पुँजीकोषको १५ प्रतिशतसम्म बचत लिन पाउनुपर्ने बताए । कार्यक्षेत्र ठुलो भएको संस्थामा अहिले समस्या देखिएको भन्दै बजगाईले पालिकास्तरको कार्यक्षेत्र भएका संस्थाहरु समस्यामा नरहेको उल्लेख गरे । अधियानको कुरा सुनुवाई नभए कानुनी उपचारमा जान समेत आफुहरु तयार रहेको उनले बताए । यस अघि संस्थाको विनियममा तोके बमोजिम सदस्यबाट बचत लिन पाउने व्यवस्थालाई अध्यादेशले कार्यक्षेत्रको आधारमा बचतको सीमा तोकेकाले  संशोधन गर्नुपर्ने माग अभियानको रहेको छ । त्यसैगरी एक संस्था एक सदस्य,सञ्चालकको दुई कार्यकाल र सञ्चालक समितिमा सञ्चालकहरुको संख्या जस्ता विषयलाई  सहकारीकर्मीहरुले  संशोधनका लागि जोडदार माग गरेका छन् ।

सहकारीकर्मीबाट आएको सुझावलाई सासद, सहकारी मन्त्री ,सचिव, सहकारी विभाग  र राष्ट्रिय सहकारी महासंघलाई बुझाउने उनले जानकारी दिए । अध्यादेशलाई संशोधन गर्न आ आफ्नो ठाउँबाट भूमिका खेल्न उनको आग्रह छ । राष्ट्र बैंकले जारी गरेको निर्देशन र मापदण्डको मस्यौदाका कतिपय व्यवस्थाहरु पनि संशोधन गर्न माग गरिएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तव्य राख्दै सहकारीलाई अप्ठ्यारो पार्ने कानुनलाई परिमार्जन गर्नुपर्नेमा चलिरहेका सहकारीलाई बन्द गर्ने कोणबाट अध्यादेश आएको बताए । सहकारीको विषयमा प्रष्ट ओकालत गर्ने नेतृत्वको अभावले अहिलेको अवस्था आएको उनको भनाई छ ।

जुन कुराको संंम्बोधन गर्नुपर्ने हो त्यो कुराको संम्बोधन नभएको भन्दै उनले अध्यादेशले सबै सहकारी बन्द गर भन्ने सन्देश दिएको जनाए । सहकारीकर्मीहरु एकजुट भएर अध्यादेशको विरोध गर्दै सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा लाग्न उनको आग्रह छ । सुझाव संकलनका क्रममा सहभागीहरुले अध्यादेशका कतिपय बुँदा संशोधनका लागि आवश्यक रहेको भन्दै यसले दिगो रुपमा सहकारी चलाउन समस्या हुने बताए । 

 

member1.JPG