बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले सहकारीमा बचतको सीमा तोक्नु अन्तर्राष्ट्रिय सहकारी मुल्य,मान्यता र सिद्धान्त विपरित भएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले अध्यादेश मार्फत सहकारीमा बचतको सीमा तोक्नु गतल भएको धारणा राखे ।
उनले संविधान र अन्तर्राष्ट्रिय मुल्य मान्यतालाई मिचेर सरकारले बचतको सीमा तोकेको आरोप लगाए । उत्पादन वृद्धि, रोजगारी सृजना र ग्रामीण क्षेत्रमा सदस्यको जीवन माथि उकास्न सहकारीले उल्लेख भूमिका खेलेको उनको भनाई छ । बागमती प्रदेशमा ५ हजार सहकारीले बचत ऋणको कारोबार गर्ने गरेको भन्दै सापकोटाले ती सहकारी मार्फत लाखौं सदस्य उत्पादनमा जोडिएर आर्थिक उपार्जन गर्दै आएको बताए । शहरी क्षेत्र बाहिरका कतिपय जिल्लाका एउटामा पनि समस्या नआएको उनले जनाकारी दिए । दोलखा, मकवानपुर र रामेछापकाे उदाहरण दिँदै उनले ती जिल्लामा रहेका सहकारीमा कुनै पनि समस्या नआएको जिकिर गरे ।
शहरी क्षेत्रमा रहेका केही सहकारीहरु सिद्धान्त भन्दा बाहिर गएर स्वार्थको लागि काम गर्दा अहिलेको परिस्थिति आएको उनको भनाई छ । उनले थपे,‘केही बैंक तथा वित्तीय संस्थामा पनि समस्या छ । सबै सहकारीमा समस्या आएको होइन् । केही संस्थामा समस्या आएको हो । यसलाई आधार मानेर बचतको सीमा तोक्नु गलत छ । ’ बचतको सीमा तोक्नुले संविधानको धारा २५ ले सम्पत्तिको हकको व्यवस्था गरेको र नागरिकलाई कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने र भोक चलन गर्न दिएको साविक ऐनको व्यवस्था कटौती भएको उनको ठहर छ । कार्यक्षेत्रको आधारमा सहकारीमा बचतको सीमा काँही पनि नभएको उनको दावी छ । अध्यादेशले धेरै वटा जिल्ला कार्यक्षेत्र भएको राम्रो र पालिका मात्रै कार्यक्षेत्र भएको संस्था नराम्रो सावित गरिदिएको भन्दै उनले पालिकास्तरमा रहेका सहकारी अव्वल रहेको जिकिर गरे ।
सापकोटाले थपे,‘ पालिकाभित्र सञ्चालित संस्थाहरु सुशासनमा चलेका छन् । वित्तीय अनुशासनमा बसेका छन् । कार्यक्षेत्रका आधारमा बचतको सीमा तोक्नु हुँदैन । यो विश्वव्यापी सिद्धान्त विपरित छ ।’त्यसैगरी सञ्चालक समिति दुई कार्यकाल बस्ने पाउने व्यवस्था पनि गलत भएको उनले जनाए । पारम्भिक संस्थामा निर्वाचित भएको व्यक्ति माथिलो संघहरुमा जान नपाउने व्यवस्था पनि गलत भएको उनको धारणा छ । ‘स्तरीकरण कार्यक्रममा आवद्ध संस्थाहरु बैंकमा भन्दा पनि सुशासनमा चलेका छन्, यी संस्था कहिल्यै भाग्दैनन् । उनले भने ’ राष्ट्र बैंकले ल्याएको मापदण्ड र निर्देशन सहकारी मुल्य, मान्यता र सिद्धान्त बाहिर रहेको भन्दै उनले केही कुरामा स्वार्थ बाझिएको सुनाए ।
नेपालपत्र संवाददाता