राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा समस्या आयो भन्दैमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउँदै सहकारीको समस्या एक द्वार प्रणालीबाट समाधान गर्नुपर्ने बताएकी छन् ।
उनले जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको नेतृत्वमा आएको सहकारीकर्मीहरुको समूह र कालिमाटी–कूलेश्वर–बल्खु क्षेत्रमा क्रियाशील सहकारीकर्मीहरुको समूहले माघ १५ गते महासंघमा बेग्लाबेग्लै बुझाएको ज्ञापन पत्रलाई बुझदै सो कुरा बताएकी हुन् । सहकारीकर्मीहरु अनुशासित, जिम्मेवार र इमान्दार हुन्छन् भन्ने विश्वव्यापी मान्यतालाई दर्शाउन हामीले ब्यबहारमा चुक्यौं कि भन्दै अध्यक्ष मल्लले आफु अनुशासित भएपछि मात्र अरुलाई औला उठाउन सकिने भएकाले सहकारी अभियानको दीगो विकास र स्थायित्वका लागि जस्तोसुकै लबिङ्ग गर्न पनि महासंघ तयार रहेको उल्लेख गरिन् ।
सहकारी अभियान कहीं न कहीं चुकेकै कारण रातारात अध्यादेश आएको बताउँदै महासंघ अध्यक्ष मल्लले हाल देखिएका चुनौतीहरुलाई सुधार गरेर जाने बेला आएको जनाइन् । साथै उनले एक व्यक्ति लगातार एक सहकारी संस्थाको एकै पदमा रहिरहनु नपाउने मांग अभियानले गर्दै आएको भए पनि अध्यदेशमा एक व्यक्ति एक संस्था भएर आएकाले सो त्रुटी सच्चिनुको विकल्प नभएको उनको भनाई छ। सहकारी अध्यादेशमा समावेश भएका केही बुँदाहरु सहकारीको सिद्धान्त, मूल्य मान्यता र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अभ्यास विपरित भएकाले प्रतिकूल प्रावधानहरुलाई प्रतिस्थापन विधेयक मार्फत संशोधन आग्रह गरिएको छ । सो अध्यादेशमा सहकारी संस्थाहरुको कार्यक्षेत्रका आधारमा निक्षेपको सीमा निर्धारण, प्रतिनिधित्वमूलक प्रतिनिधि प्रणाली, एक व्यक्ति एक सहकारी संस्था जस्ता केही प्रतिकूल प्रावधानहरुलाई अविलम्ब नसच्चाउने हो भने समुदायमा आधारित सहकारी संघ÷संस्थाहरु पनि बन्द गर्नुपर्ने अवस्था आउने बताइएको छ ।
साथै सहकारी संघ÷संस्थाहरुले राजश्व र समुदायमा पु¥याएको योगदानलाई पनि नजर अन्दाज गरेको र उद्यमशीलता र रोजगारी सिर्जनालाई अध्यादेशले अनदेखाइ गरेको गुनासो सहभागी सहकारीकर्मीहरुले गरेका छन् । जिल्ला बचत संघ भक्तपुरका अध्यक्ष कृष्णगोबिन्द लाखाजुको नेतृत्वमा आएका ेसहकारीकर्मीहरुमा जिल्ला संघका उपाध्यक्ष सहना पसखल, राधेश्याम सुवाल, कान्छा घजु लगायत रहेका थिए भने कालिमाटी–कूलेश्वर–बल्खु क्षेत्रमा क्रियाशील सहकारीकर्मीहरुको समूहको नेतृत्व अध्यक्ष दयाराम प्रजापतिले गरेका थिए ।
नेपालपत्र संवाददाता