आइतबार, कार्तिक ९ गते २०८३

राष्ट्र बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको  मस्यौदामाथि महासंघले गर्यो छलफल


माघ १०, २०८१ बिहीबार
राष्ट्र बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको  मस्यौदामाथि  महासंघले  गर्यो छलफल


बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैंकले तयार पारेको निर्देशन र मापदण्डको प्रारम्भिक मस्यौदाका विषयमा राष्ट्रिय सहकारी महासंघले छलफल आयोजना गरेको छ । महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आयोजित छलफलमा विषयगत केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, प्रदेशस्तरीय र जिल्लास्तरीय संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप नीति तथा मापदण्डहरू तयार गर्न योगदान पु¥याउने उद्देश्यका साथ छलफल भएको अध्यक्ष मल्लले बताउनुभयो । नेपाल राष्ट्र बैंकले मस्यौदामाथि राय–सुझाव प्रस्तुत गर्न माघ मसान्तसम्मको समय सीमा निर्धारण गरेको छ । अध्यक्ष मल्लले अभियानकोतर्फबाट महासंघले सबैबाट सुझाव संकलन गरी एकीकृत रुपमा पेश गर्ने तयारी गरिरहेको बताइन् ।

अध्यक्ष मल्लले सहकारी अभियानलाई स्वनियमन र सुशासनको मार्गमा लैजान महासंघ प्रतिबद्ध रहेको बताउँदै मापदण्ड तयार गर्ने प्रक्रियामा सहकारी क्षेत्रको सशक्त प्रतिनिधित्व सुनिश्चित गरिनुपर्नेमा जोड दिए । छलफलमा सहभागीहरूले मस्यौदाका कतिपय बुँदाहरू सहकारी मूल्य, मान्यता र सिद्धान्तविपरीत रहेको बताउँदै मस्यौदामा सुधार आवश्यक रहेको धारणा राखिन्। 

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्षहरू खेम पाठक, डिबी बस्नेत, इन्दिरा पन्त तथा संचालकहरू टेकप्रसाद चौलागाईं, परितोष पौडेल र सुमन नेपालको समेत उपस्थिति थियो । महासंघका महाप्रबन्धक सुरेश थापाले मस्यौदाका कतिपय प्रावधान सहकारी सिद्धान्तसँग मेल नखाने भन्दै संशोधनका लागि शैद्धान्तिक आधार प्रस्तुत  गरेका थिए  । छलफलमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका सहायक निर्देशक शान्ता गिरीले सुझावलाई नेपाल राष्ट्र बैंकले स्वागत गर्ने बताए  ।

छलफलमा सहकारी क्षेत्रसँग सम्बन्धित नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा समेत छलफल गरिएको थियो । सहभागीहरूले केही प्रावधानले सहकारी क्षेत्रलाई संकुचित पार्ने र संस्थागत क्षति पु¥याउन सक्ने भन्दै प्रतिस्थापन विधेयकमार्फत तिनीहरूलाई संशोधन गर्न सरकारसँग तत्काल पहल गर्नुपर्ने माग गर्नुभएको छ । महासंघले सहकारी अभियानको दीर्घकालीन हितलाई ध्यानमा राख्दै सबै पक्षको रायलाई समेटेर मस्यौदामा समुचित सुझाव प्रस्तुत गर्ने प्रतिवद्धता जनाएको छ ।