आइतबार, कार्तिक ९ गते २०८३

समस्याग्रस्त घोषित सुमेरु सहकारी संस्थामा सरकारले लगायो ताला


माघ १०, २०८१ बिहीबार
समस्याग्रस्त घोषित सुमेरु सहकारी संस्थामा सरकारले लगायो ताला

पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिटको अपरेटिभलाई सरकारले शिल गरेको छ । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत गठन भएको समस्याग्रस्त व्यवस्थापन गरी समितिको कार्यालय आज उक्त संस्थालाई शिल गरेको हो । समितिका अध्यक्ष प्रभात अधिकारीले सुमेरु सहकारीलाई शिल गरेर सम्पूर्ण सिष्टमलाई लक गरिएको जानकारी दिए ।

संस्थाको सम्पूर्ण कागजातका साथै सिष्टम लक गरेर सम्पत्ति, दायित्व र ऋण लगानीको बारेमा अध्ययन गर्ने उनले बताए । कार्यालयले संस्थाको सञ्चालक समितिलाई निलम्बन गर्दै सम्पूर्ण अधिकारी आफुमातहात लिएको उनले जनाए । कार्यालयले संस्थाको न्युनतम हिसाब किताब जाँच गर्ने,अडिट गर्ने र सम्पत्ति बेचविखन गरेर सदस्यहरुको बचतफिर्ता गर्ने जनाएको छ । काठमाडौंमा सुमेरु नामका  तीन वटा सहकारी संस्था सञ्चालनमा रहेको भए प्रत्येक संस्थाको सञ्चालक समिति भने फरक -फरक रहेको पाइएको छ ।

समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाहरुको अडिट गर्दा धनात्मक देखियो भने विशेष साधारण सभा गरेर नयाँ सञ्चालक समितिलाई सञ्चालन गर्न दिन सकिने र संस्था ऋणात्मक देखिएको खण्डमा कार्यालयले नै जिम्मेवारी लिएर प्रक्रिया अगाडि बढाइने उनको भनाई छ ।  मन्त्रालयले केही दिन अघि मात्र सुमेरु सहित अन्य दुई संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । सुमेरुले सदस्यहरुको ११ अर्बको हारहारीमा बचत संकलन गरी अपचलन गरेको पाइएको छ ।