बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जामा निरन्तर वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा अधिकतम ७ प्रतिशतको हाराहारीमा पुगेको छ।
पछिल्ला वर्षहरुमा औसतमा १ देखि २ प्रतिशतको बीचमा रहने गरेको खराब कर्जा अहिले औसतमा ४.३३ प्रतिशत रहेको छ । दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण विवरण अनुसार कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशतमा पुगेको छ । कुल १४ वटा बैंकहरुको खराबकर्जा बढेर ४ प्रतिशत माथि पुगेको छ भने एउटा बैंकको खराबकर्जा बढे पनि ३ प्रतिशतमै सीमित रहेको छ ।
कुमारी बैंक खराब कर्जा ६.९६ प्रतिशत, प्रभु बैंकको ५.६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.८६ प्रतिशत, लक्ष्मी सनराईज बैंकको ५.६७ प्रतिशत रहेको छ ।
त्यसैगरी नेपाल बैंकको ४.९९ प्रतिशत, हिमालयन बैंकको ४.९८ प्रतिशत, प्राईम बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ४.९६ प्रतिशत, कृषि विकास बैंकको ४.९ प्रतिशत, ग्लोबल आइएमई बैंक ४.८६ प्रतिशत, सिटिजन्स बैंकको ४.८५ प्रतिशत, एनआइसी एसिया बैंक ४.६१ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५४ प्रतिशत, सिद्धार्थ बैंकको ४.५ प्रतिशत रहेको छ ।
त्यसैगरी नेपाल एसबीआई बैंकको खराब कर्जा ३.५५ प्रतिशत, सानिमा बैंकको ३.२२ प्रतिशत, एनएमबी बैंकको ३.९६ प्रतिशत रहेको छ भने
नबिल बैंक खराब कर्जा १.७ प्रतिशत मात्रै रहेको छ। यता स्टान्डर्ड चार्टड बैंकले खराबकर्जा १.७१ प्रतिशत र एभरेष्ट बैंकले खराबकर्जा ०.६६ प्रतिशतमा रहेकाे अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरेका छन् ।
अर्थतन्त्रमा देखिएको सुस्ती र व्यापार व्यवसायमा आएको मन्दीका कारणले बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा समस्या रहेको प्रष्ट देखिएको छ । करिब दुइ वर्षदेखि ठप्पप्राय रहेकाे घरजग्गा कारोबारका कारण बैंकहरुले धितो सकार गरे पनि लिलाम गर्न नसक्दा कर्जा असुली कमजोर बन्दै गएपछि यतिबेला बैंकहरु बढ्दो खराबकर्जाको चापमा देखिएका हुन्।
कतिपय अर्थतन्त्रका जानकारहरू भने खराब कर्जाकाे वास्तविक चित्र सार्वजनिक तथ्यांक भन्दा निकै बढी भएकाे र त्याे भयावह हुन सक्ने औंल्याउँछन् ।
नेपालपत्र संवाददाता