चालु आर्थिक वर्षको दोश्रो त्रैमास सकिँदा बाणिज्य बैंकहरुको नाफा मिश्रित देखिएको छ । सञ्चालनमा रहेका २० बैंकमध्ये ११ वटाको नाफा बढेको छ भने बाँकी ९ को घटेको छ । ६ महिनाको अवधिमा वाणिज्य बैंकहरुको २७ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको पुसमा वाणिज्य बैंकहरुको नाफा २८ अर्ब ७६ करोड थियो ।
बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार प्रभु बैंकको नाफा सबैभन्दा धेरै ८५.४९ प्रतिशतले वृद्धि भएको छ । दोस्रो त्रैमास प्रभुले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । त्यसपछि धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । नबिलले ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले नाफामा ४९.५१ प्रतिशतले वृद्धि गरी ३ अर्ब ५ करोड कमाई गरेको छ ।
आर्थिक गतिविधि सुस्त भए पनि अधिकांश बैंकहरु असुली दवाब रहेको छ । यस अवधिमा असुलीमा सुधार गर्ने संस्थाहरुले भने नाफा बढाउन सफल भएको देखिन्छ ।
एनआईसी एसिया, कुमारी, नेपाल, सिटिजन्स, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा खुम्चिएको छ ।
एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै ९२.०३ प्रतिशतले खुम्चिएको छ । पुस मसान्तसम्म बैंकले १५ करोड १७ लाख नाफा गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ९० करोड नाफा गरेको थियो ।
औसत दरमा भने दोस्रो त्रैमासमा भने निराशाजनक देखिएको छ । बैंकहरु को खुद नाफा औसतमा ४.६१ प्रतिशतले घटेको छ ।
यो अवधिमा ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ । विगतमा अर्ब बढीको नाफा गर्ने वाणिज्य बैंक चालु आवको दोस्रो त्रैमासमा करोडमा झरेका हुन् । गत आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासमा करिब २ अर्ब अर्थात् १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको एनआईसी एशिया बैंकको चालुआवको दोस्रो त्रैमासमा कुल १५ करोड १७ लाख रुपैयाँ मात्रै खुद नाफा छ । यो अवधिमा यस बैंकको नाफा ९२.०३ प्रतिशत घटेको छ ।
अघिल्लाे साेही अविधमा एक अर्ब अर्थात् ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको कुमारी बैंकले चालुआवको पुस मसान्तसम्म २७ करोड ५७ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यो अवधिमा यस बैंकको नाफा ६८.२० प्रतिशतले घटेको छ ।
त्यसैगरी २ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकले चालु आवको सोही अवधिमा ७६ करोड ३० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यो अवधिमा यस बैंकको पनि नाफा ६२.१३ प्रतिशतले घटेको छ ।
नेपालपत्र संवाददाता