चालु आर्थिक वर्षको पहिलो ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जा लगानीमा सामान्य वृद्धि देखिएको छ । बचत तर्फ २.७ प्रतिशतको वृद्धि देखिएको छ भने कर्जा लगानी ३.५ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. १७२ अर्ब ३२ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२ ६३ अर्ब ७२ करोडले बढेको थियो ।
२०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.३ प्रतिशत, २६.३ प्रतिशत र ६०.७ प्रतिशत रहेको थियो ।
मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ । २०८० मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३६.७ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१७८ अर्ब २९ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.११० अर्ब १ करोड (२.३ प्रतिशत) ले बढेको थियो ।
२०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.६ प्रतिशतले, विकास बैंकहरुको २.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.३ प्रतिशतले बढेको छ ।
२०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १३.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६.१ प्रतिशत रहेको छ । २०८० मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ११.६ प्रतिशत र ६७.७ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५ं.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले घटेको छ ।
नेपालपत्र संवाददाता