शनिबार, कार्तिक ८ गते २०८३

पाँच महिनामा मुलुकबाट ७३ अर्ब ६६ करोडको वस्तु निर्यात


पौष २८, २०८१ आइतबार
पाँच महिनामा मुलुकबाट ७३ अर्ब ६६ करोडको वस्तु निर्यात

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भईरु.७३ अर्ब ६६ करोड पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१प्रतिशतले कमी आएको थियो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान तथा वित्तीय स्थिति अनुसार  गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ भएको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया,पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड,ऊनको गलौँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा,तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल वस्तु आयात ३ प्रतिशतले वृद्धि भई रु.६६१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः ४.० प्रतिशत र ४.६ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा १.८ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, कच्चा भटमास तेल, स्पन्ज आइरन, लसुन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, केराउ, अलकत्रा लगायतका वस्तुको आयात घटेको छ ।