राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडालले यो देशका राज्य सञ्चालन गरी सकेका र आफुलाई अर्थशास्त्री भनेर चिनाउनेहरुले पनि सहकारी र नीजि क्षेत्र एउटै हो भनेर बोल्ने गरेको बताएका छन् । ५ पटक अर्थमन्त्री भइसकेका र कोही अर्थमन्त्री र प्रधानमन्त्री दुबै भइसकेका व्यक्तिबाट यस्तो अभिव्यक्ति सुन्दा कठैबरा भन्न मन लागेको उनले बताए ।
नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं बार्षिक साधारण सभामा बोल्दै बडालले ती महान विद्धान व्यक्तिहरुको अभिव्यक्ति सुन्दा आफुलाई कठैबरा भन्न मन लागेको जनाए । सहकारी नीजि क्षेत्र,एन्जिओ र कम्पनी नभई सामाजिक न्याय र उत्पादन वृद्धिलाई अगाडि बढाउने माध्यम भएको बडालको भनाई छ । सहकारी सामाजिक व्यवसाय भएको र यसले सामाजिक न्याय र उत्पादन वृद्धिलाई समानन्तर रुपमा अगाडि बढाउने उनले जनाए । सहकारीले समाजमा उल्लेख योगदान पुन्याएको भन्दै यसको महत्वलाई कम आँकलन गर्न नमिल्ने उनले प्रष्ट पारे । उनले सरकारले ल्याएको अध्यादेशले सहकारी क्षेत्रलाई खुमच्याउन खोजको भन्दै संसद बसेपछि संशोधन गर्न आवश्यक रहेको उल्लेख गरे । सहकारी ठुलो भएर समस्या नआएको भन्दै बडालले राज्यले नक्कली सहकारीलाई प्रोत्साहन गर्दा समस्या आएको प्रष्ट पारे ।
गत १० बर्षदेखि कतिपय सहकारी मूल्य, मान्यता, सिद्धान्त, आचरण र कार्यपद्धति अनुसार चलेको छैन भन्दा आफुलाई कतिपय साथीहरु कुटन समेत आइलागेको उनले बताए । उनले भने,‘ सरकारलाई सहकारी ठुलो भएर बिग्रे भन्ने भ्रम छ, त्यो होइन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, नव जीवन सहकारी संस्था, विकु बचत तथा ऋण सहकारी संस्था, किसान बहुउद्देश्यीय सहकारी संस्था जस्ता सयौं सहकारीले अबौंको कारोबार गछर्न । त्यसैले सहकारी ठुलो भएर बिग्रिएको होइन,गलत तरिकाले चलेका कारण समस्या आएको हो ।’ सहकारीले अर्ब होइन खर्ब डलरको पनि कारोबार गर्न पाउनु पर्ने उनको तर्क छ । सहकारीले यति मात्रा कारोबार गर्नुपर्छ भनेर भन्नु गलत भएको उनको भनाई छ । गतिमान ढंगले अगाडि बढेका सहकारीलाई निस्तेज गर्ने कुरा गलत भएको उनको दावी छ ।
नेपालपत्र संवाददाता