काभ्रे जिल्लाको बनेपा–८, तीनदोबाटोमा रहेको पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । संस्थाको सहकारी शिक्षा तथा समाजकल्याण उप–समितिको आयोजनामा सोही अवसरमा ‘पिपुल्स जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम’ समेत गरेको थियो ।
जेष्ठ सदस्यहरुलाई भक्तपुरको श्रीपञ्च महालक्ष्मी, चाँगुनारायण मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको दर्शन एवं भ्रमण गराएको संस्थाले जनाएको छ । उक्त तिर्थाटनमा संस्थाका जेष्ठ सदस्य, संचालक समिति, लेखा समिति, अयोजक उप–समिति, अन्य उप–समिति र कर्मचारी समेत गरी ८५ जनाको उपस्थिती रहेको थियो । उक्त तिर्थाटन कार्यक्रमको संयोजन उक्त उप–समितिबाट द्वारीका गौतम र संयोजन सहयोगीमा संचालक सदस्य कपिल प्रसाद दुलालले गरेका थिए ।
सहकारी शिक्षा, वित्तिय एवं प्रविधि साक्षरता शिविर उद्घाटन कार्यक्रम संचालन सचिव सन्तोष घिमिरेले गरेका थिए । संस्थाका अध्यक्ष निरन शाक्यले संस्था सवल, सक्षम एवं सुशासनयुक्त भएर सञ्चालन भएको जानकारी दिए । संस्थाले पल्र्स अनुसार तरलता व्यवस्थापन गरेको र वित्तीय कारोबारमा समेत वृद्धि भएर गएको उनले बताए । संस्थाका प्रबन्धक नवराज सापकोटाले सदस्यहरुलाई प्रशिक्षण दिएका थिए भने शिविर सञ्चालनकै क्रममा लोक गायक मच्छेश्वर सापकोटाले संस्थाको दीगोपनको विषयलाई प्रकाश पार्दै लोक गित प्रस्तुत गरेका थिए । समापन मन्तव्य राख्दै उप–समिति संयोजक गौतमले सहकारी शिक्षा शिविर एवं समग्र कार्यक्रमको महत्व तथा आगागी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सदस्यहरुको सहभागिता बढाउने बताए ।
नेपालपत्र संवाददाता