मंगलबार, कार्तिक ११ गते २०८३

सहकारी चाहिँदैन भन्ने एउटा तप्का छ तर जनताको जीवनस्तर उकास्ने माध्यम सहकारी होः मन्त्री अधिकारी


पौष २२, २०८१ सोमबार
सहकारी चाहिँदैन भन्ने एउटा तप्का छ तर जनताको जीवनस्तर उकास्ने माध्यम सहकारी होः मन्त्री अधिकारी


भूमि व्यवस्था,सहकारी तिथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जनताको जीवनस्तर उकास्ने माध्यम सहकारी भएको बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघको १७ औं बार्षिक साधारण सभामा बोल्दै उनले सहकारीमा स सानो बचत गर्ने र आफुलाई आवश्यक परेको बेला ऋण लिएर विभिन्न व्यवसाय गर्न सक्ने बताए ।

सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय गरी अािर्थक अवस्था माथी उठाउन सक्ने भन्दै मन्त्री अधिकारीले सहकारीप्रति समाजमा फैल्याइएको हल्ला मिथ्था हो भनेर  बुझाउन आवश्यक रहेको बताए । देशभरका सहकारी संस्था एकैदिन भेला भएर सहकारी सही छन भन्ने सन्देश दिन मन्त्री अधिकारीको आग्रह छ । मुलुक र जनताको आर्थिक अवस्था सुधार गर्न सहकारीले राम्रो काम गरेका छन् , यसर्थ सहकारीलाई बदनाम गर्न पाइदैन भन्ने सन्देश दिन राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कूनले पहल गर्न उनले सुझाए । ‘अहिले सहकारीहरू एउटै प्रवृत्तिका हुन्, एउटै खाले हुन् । यी सहकारी ठिक छैनन्, अब सहकारी चाहिँदैन भन्ने एउटा तप्का छ । तिनीहरूलाई चुनौती दिन आवश्यक छ,’ उनले भने, ‘अब सहकारी ठीक छन् भनेर जानुपर्छ, वास्तविक जनतासँग आधारित, कृषिमा आधारित राम्रा सहकारी छन् भनेर भन्नुपर्ने छ  । ’

 सहकारीहरु स्वःनियमनमा चलेनन् र यिनीहरुलाई प्रभावकारी नियमन गर्नु पर्यो भनेर अभियानले नै भनेकाले ऐन संशोधन गरेर प्राधिकरण गठनको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । मन्त्री अधिकारीले सहकारीकर्मीबाट अध्यादेशमा उल्लेख भएका केही व्यवस्थाहरुको विरोध भएको बताउँदै त्यसलाई सच्याएर जाने  बताए । उनले अध्यादेशका व्यवस्थालाई लिएर अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको  उल्लेख गरे । ‘सबै काम एकैपटक हुँदैन, स्वाभाविक रुपमा अध्यादेशमा केही विषयहरु छुटेका छन्, ती विषयहरुलाई राख्नुपर्नेछ, राखिएका तर आवश्यक नभएका विषयलाई हटाउन पनि सकिन्छ,’ उनले भने, ‘त्यसैले आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ 
‘हामीले दुई कार्यकालको विषय प्रारम्भिक बचत तथा ऋण कारोबार गर्न स्वीकृत लिएको संस्थाका लागि भनेका हौं, अध्यादेशमा प्रारम्भिक शब्द छुटेछ, त्यसलाई सच्याउन सकिन्छ,’ उनले भने, ‘विगतमा दुई पटक बसेकाले अहिले पाउँदैन भनेर हल्ला फैलाइएको छ ।’