सरकारका आर्थिक सल्लाहकार तथा पूर्वगभर्नर युवराज खतिवडाले सहकारीले पुँजीको आधारमा बचत संकलन गर्न सक्ने बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ औं वार्षिक साधारण सभामा बोल्दै उनले सहकारीमा बचत कति राख्ने भन्दा पनि पूँजीको आधारमा निश्चित गुणासम्म राख्न पाउने बताए ।
उनले भने,‘पुँजी १ करोड छ भने १० करोड रुपैयाँसम्मको बचत राख्न पाउनुपर्छ । बैंकिङ क्षेत्रमा पनि हामीले त्यस्तै प्रथालाई चलाएर बैंकहरुलई सुसुज्जित र बलियो बनाएका हौं । तसर्थ यो विषयमा छलफल गरेर अघि बढौँला ।’ खतिवडाले थपे ,‘ अध्यादेश भर्खरै आएको छ । यसैमा संशोधनको कुरा नगरौँ ।। केही समयपछि सहकारी ऐनको संशोधनमा बचत संकलनलाई पुँजीकोषको आधार अथवा प्राथमिक पुँजीको आधारबाट तय गर्ने र अन्य कुराहरु आफ्नो बचतकर्तालाई बचत फिर्ता दिन सक्ने क्षमताको आधारबाट लिएर जाउँला । यसमा थप छलफल गरेर अघि बढ्ने हो । अहिले यसले तपाईहरुलाई काम गर्न रोक्छ जस्तो लाग्दैन । अहिलेको सहकारीमा बचत जोगाउने बेला हो । थप्ने होइन । बचत जोगाउने बेलामा यति करोड जम्मा गर्न पाइएन भनेर धेरै कराउनुको अर्थ रहँदैन । ’
अध्यादेशले बचतमा सीमा, पदाधिकारीको पदावधिको विषयहरुको आएकोले त्यो विषय क्रमश मिल्दै जाने उनले जनाए । उनले भने ,‘अबको काम सहकारी संस्थाहरुप्रतिको विश्वास बढाउने हो । त्यसको स्वनियमन बलियो बनाउने, अनुगमनलाई प्रभावकारी बनाउने हो । कोही समस्यामा परे भने त्यसको समाधान गर्नका लागि प्राधिकरणलाई काममा ल्याउने हो । ’ अध्यादेशमा भएका कमीकमजोरीहरु सहकारी ऐन पूर्ण रुपमा संशोधन हुँदाखेरी संशोधन भएर आउने उनले प्रष्ट पारे । अहिले नै कसैले सहकारी अभियानलाई खुम्च्याउन लागिएको हो की भन्ने अर्थमा नबुझ्न उनको आग्रह छ । सहकारी प्रणाली मार्फत अर्थतन्त्रको उत्थान र कृषि क्षेत्रको उत्थानका लागि सरकार संयमित भएको उनको भनाई छ ।
नेपालपत्र संवाददाता