शनिबार, आश्विन १७ गते २०८३

कर्णाली प्रदेशमा निक्षेप सङ्कलन ११.७९ प्रतिशतले बढ्यो


पौष २२, २०८१ सोमबार
कर्णाली प्रदेशमा निक्षेप सङ्कलन ११.७९ प्रतिशतले बढ्यो

कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलनमा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैङ्क सुर्खेत कार्यालयले तयार गरेको आर्थिक वर्ष २०८०।८१ मा आधारित प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनका अनुसार कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेप, अघिल्लो वर्षको तुलनामा ११.७९ प्रतिशतले बढेर ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको हो । अघिल्लो  आर्थिक वर्ष २०७९।८० वर्ष यस्तो निक्षेप ११.८९ प्रतिशतले बढेर ६७ अर्ब ४९ करोड ९२ लाख रुपियाँ पुगेको थियो ।

आर्थिक वर्ष २०८०(८१ मा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जामा भने २.२४ प्रतिशतले मात्र वृद्धि भएर ५९ अर्ब २३ करोड ४४ लाख रुपियाँ पुगेको छ । गत वर्षमा यस्तो कर्जा ५.४७ प्रतिशतले बढेर ५७ अर्ब ९३ करोड ६७ लाख पुगेको थियो । त्यस्तै समीक्षा वर्षमा कर्णाली प्रदेशको कर्जा तथा निक्षेप अनुपात ७८.५० प्रतिशत रहेको छ । उक्त अनुपात गत वर्षमा ८५.८३ प्रतिशत रहेको थियो ।

प्रतिवेदन अनुसार बैङ्क तथा वित्तीय संस्थाका ४७५ शाखा छन् । अघिल्लो वर्ष सो प्रदेशमा ४६६ वटा शाखा थिए । समीक्षा वर्षमा नौ वटा शाखा विस्तार भई ४७५ पुगेकोमा वाणिज्य बैङ्क ‘क’ वर्गका २१३ वटा, विकास बैङ्क ‘ख’ वर्गका २१ वटा, वित्त कम्पनी ‘ग’ वर्गका तीन वटा र लघुवित्त वित्तीय संस्था ‘घ’ वर्गका २३८ वटा छन् ।

त्यसैगरी  कर्णाली प्रदेशमा २८ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् । यस्तो सेवा प्रवाहमा सुर्खेत जिल्ला सबैभन्दा बढी ११ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् भने प्रदेश भर ११३ एटिएम सेवा कायम रहेका छन् ।