भक्तपुर। बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अथिति राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्ध चित्राकुमारी थाम्सुहाङ सुब्बा रहेकी थिइन् ।
सभामा बोल्दै उनले बालकुमारी सहकारी संस्थाले समुदाय र सदस्यलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय कारोबार गरेका कारण यस क्षेत्रकै उत्कृष्ट संस्था बन्न सफल भएको बताइन् । संस्थाले सदस्यहरुलाई विभिन्न विधामा सम्मान गर्नुले संस्था सदस्यप्रति समर्पित भएको प्रमाणित गरेको उनले उल्लेख गरिन् । संस्था समुदायमा परिचित भइसकेकाले संस्थाको छविलाई कायम राख्दै आगामी दिनमा अगाडि बढाउन सञ्चालकहरुको भूमिका महत्वपूर्ण हुने उनले बताइन् । संस्थाले बर्षभरी के के कार्यक्रम गर्यो र यस आर्थिक बर्षमा के कस्ता कार्यक्रम गर्ने भनेर छलफल गर्ने थलो साधारण सभा भएकाले सदस्यको सक्रिय सहभागिता आवश्यक पर्ने उनको भनाई छ।
समुदायले स्वीकार गरेको र सामाजिक गतिविधी गर्ने मात्र वास्तविक सहकारी भएको उनको भनाई छ । संस्थालाई अझ अगाडि बढाउन सदस्यको भूमिका महत्वपूर्ण हुने भएकाले सहकारीमा विश्वास गरेर बचत ऋणको कारोबारसँगै सबै गतिविधीमा सहभागी जनाउन उनले आग्रह गरिन् । अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्रसघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी बर्ष घोषणा गरेकाले नेपालका सहकारी संस्थाले रचनात्मक कार्यक्रमको आयोजना गरी यो बर्ष मनाउन उनको आग्रह छ ।
सभामा अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै संस्था सुमदाय र सदस्य केन्द्रीत भएर वित्तीय कारोबार गर्दै आएको बताए । संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी सहकारी ऐन नियमका साथै आन्तरिक नीति तथा कार्यविधिलाई पालना गरेर वित्तीय कारोबार गर्दै आएकाले निरन्तर वित्तीय सुचाकाङ्कमा वृद्धि भएको उनले बताए ।
कतिपय सहकारी संस्थामा तरलता अभाव रहेको अवस्थामा संस्थाप्रति सदस्यहरुले गरेको विश्वासका कारण अधिक तरलता रहेको र सदस्यहरुलाई सहुलियत ब्याजदरमा ऋण लगानी गर्दै आएको उनले सभामा जानकारी दिए । तरलताको अनुपातमा ऋणको मागमा कमि आएका कारण गत बर्ष नाफामा समेत केही संकुचन आएको उनले सभामा जनाए । समयाअनुकुल ब्याजदर परिमार्जन गरी सुरक्षित ऋण लगानी वृद्धिका लागि संस्थाले प्रयास गरेका कारण यस आर्थिक बर्षमा ऋण लगानीमा सकरात्मक वृद्धि भएको उनको भनाई छ । शहरमा खुलेका केही सहकारी संस्थाले ऐन कानुनलाई पालना नगरी जथाभावी बचत संकलन गरी मनोमानी तवरले बचत परिचालन गर्दा समस्या आएको उनको भनाई छ । गलत प्रवृतिलाई चिर्दै सहकारी अभियानका राम्रा पक्षलाई बाहिर ल्याएर सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा लाग्ने अध्यक्ष श्रेष्ठले बताए । समुदायमा आधारित भई वित्तीय कारोबार गरेका कारण सदस्यहरुको निरन्तर विश्वासले गर्दा भक्तपुर जिल्लाकै उत्कृष्ट संस्था बन्न सफल भएको उनले बताए ।
संस्थाको कारोबारलाई सुरक्षित राख्न क्लाउड व्याकअप राखिएको र प्रविधिलाई थप परिस्कृत गरी सदस्यहरुलाई सहज रुपमा सेवा दिने उनले सभामा जानकारी दिए । संस्थाले यस आर्थिक बर्षमा आवश्यकता अनुसार शेयर पुँजी वृद्धि गर्ने, सदस्य बीमा कार्यक्रम सञ्चालन गर्ने,सहकारी शिक्षा ,तालिम र जेष्ठ सदस्यलाई नगद सहित सम्मान गर्ने जस्ता कार्यक्रम गर्ने उनले जनाए । संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले आर्थिक बर्ष २०८०/८१ बार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै गत बर्ष जेष्ठ सदस्य सम्मान, सहकारी अवलोकन भ्रमण,सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान,सञ्चालक, कर्मचारी तथा ऋण व्यवस्थापन जस्ता तालिम आयोजना गरिएको बताए ।
संस्थाका कोषाध्यक्ष सुदिप श्रेष्ठले आर्थिक बर्ष २०८०/ ८१ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै गत असार मसान्तसम्म शेयर पुँजी १३ करोड ७० लाख ९७ हजार, जगेडा कोष ७ करोड २५ लाख, बचत संकलन १ अर्ब ८३ करोड २७ लाख र ऋण लगानी १ अर्ब ३४ करोड १९ लाख पुगेको बताए । संस्थामा ५ हजार ६९८ सदस्य आवद्ध रहेका छन् भने गत आ.ब.मा संस्थाले ३ करोड ३३ लाख २० हजार खुद नाफा आर्जन गरेको छ । संस्थाले गत आ.ब.मा १ करोड ३१ लाख ९५ हजार राजश्वमा योगदान गरेको छ ।
साधारण सभाको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति प्रदान,जेष्ठ सदस्यहरुलाई सम्मान,एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान,पिएचडी तथा स्नात्तकोतर उत्तीर्ण सदस्यहरुलाई सम्मानका साथै प्रशिक्षकहरुलाई कदर पत्र प्रदान गरिएको थियो । सभामा संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले २०७० सालदेखि कुशलतापूर्वक व्यवस्थापनको जिम्मेवारी पुरा गरेको भन्दै कदरपत्रले सम्मान गरिएको थियो भने २ जना कर्मचारीलाई नगद सहित उत्कृष्ट कमृचारी पुरस्कार प्रदान गरिएको थियो । सभामा जिल्ला सहकारी संघ भक्तपुरका सचिव रामप्रसाद कासुला, भक्तपुर बचत संघका सञ्चालक पंचकृष्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपालपत्र संवाददाता