भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको शिक्षा तथा संस्थागत विकास उपसमितिको आयोजनामा नेपाल वित्तीय प्रतिवेदनमान(एनएफआरएस) तालिम सम्पन्न भएको छ । तालिमका कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष हरीकृष्ण बल्लले सहकारी ऐन २०७४ का कर्जा सूचना केन्द्र, कर्जा सुरक्षण कोष, एक व्यक्ति एक सहकारी लगायतका व्यवस्थाहरु कार्यान्वयन गर्न अध्यादेश जारी भएको अवस्थामा अव्यवहारिक र अवैज्ञानिक भएको बताए ।
संघको सचिव एवंम उपसमितिका संयोजक जगनाथ प्रजापतिले एनएफआरएस प्रतिवेदन बनाउने काम व्यवस्थापनको भएकाले व्यवस्थापनलाई दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरेको बताए । उनले संस्थाका व्यवस्थापन प्रमुख र लेखा प्रमुखलाई आफ्नो संस्थाको लेखापरिक्षण प्रतिवेदनलाई एनएफआरएस ढाँचामा परिवर्तन गर्न सकोस् भनी तीन दिनको प्रयोगात्मक तालिम संचालन गरेको जानकारी दिए । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले तालिमले नेपाल लेखामानको अवधारण, लेखामानले वित्तीय विवरणमा पार्ने असर लगाएतको विषयमा सिकाई हुनुको साथै विवरण तयारीका अभ्यास निरन्तर गर्दै सिकाईमा निखारता ल्याउनुपर्ने बताउनु पर्ने बताए । उनले हालै जारी अध्यादेशको बारेमा संचालक र कर्मचारीहरुले छलफल गरी स्पष्ट हुन समेत आग्रह गरे ।
तालिमका सहजकर्ता आर बराल एण्ड एसोसिएट्सका संजन श्रेष्ठ र एच पहाडी एण्ड एसोसिएट्सका सि.ए.हुकुम पहाडीले एनएफआरएस ढाँचाको सहजिकरण गर्दै एनएफआरएसको ढाँचा विनाको लेखापरिक्षण प्रतिवेदन र एनएफआरएस अनुसारको लेखापरिक्षणमा हुने भिन्नता अन्र्तगत हुने स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया, लगानी सम्पत्ती, पट्टा तथा भाडा, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जा सम्बन्धी आम्दानी, कर्मचारी सुविधा, स्थागन लगाएतको विषयमा प्रयोगात्माक प्रशिक्षण दिएका थिए । तालिमको समापन समारोह संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौमिंखाले गरेकी थिइन्। तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएकोमा खुशी व्यक्त गर्दै तालिमबाट एनएफआरएस ढाँचामा प्रतिवेदन परिवर्तन गर्ने बारे प्रयोगात्मक ज्ञान हासिल भएको बताए। तालिममा संघ र संघमा आबद्ध सदस्य संस्थाका व्यवस्थापक, लेखाअधिकृत गरी २० जनाको सहभागिता रहेको थियो ।
नेपालपत्र संवाददाता