मंगलबार, कार्तिक ११ गते २०८३

माँ बगलामुखी उपभोक्ता सहकारी संस्थाद्वारा ८ सय सदस्यलाई धार्मिक भ्रमण


पौष २०, २०८१ शनिबार
माँ बगलामुखी उपभोक्ता सहकारी संस्थाद्वारा ८ सय सदस्यलाई धार्मिक भ्रमण


माँ बगलामुखी उपभोक्ता सहकारी  संस्थाले  आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत ‘सहकारी धार्मिक भ्रमण’ आयोजना गरेको छ । महिला समितिको पहलमा आयोजित  कार्यक्रममा करिब ८०० जना महिला सदस्यहरू, महिला समूहका प्रतिनिधिहरू र ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो। 

सहभागिहरुलाई सपनतिर्थमा टोखा स्थित नयाँ किरण साकोस, नेवा गुथि र संस्कृति संरक्षित क्षेत्र विकास समिति टोखाका पदाधिकारीहरुले टिका तथा नेवारी परम्परा अनुसार कोखा लगाई स्वागत गरेका थिए। कार्यक्रममा सहभागी सहकारी सदस्यहरुले  सपनतिर्थ, बुढानीलकण्ठ, टोखा चण्देश्वरी जस्ता प्रख्यात धार्मिक स्थलहरूको दर्शन गरेका थिए। सहकारीले यस्ता भ्रमणहरू आयोजना गरेर सदस्यहरूको मनोबल र सामुदायिक भावना बढाउने उद्देश्य राखेको जनाएको  छ। धार्मिक भ्रमणकै क्रममा सपनतिर्थमा फाइट फर लाइफ नेपालको व्यवस्थापकिय सहयोग तथा मातृका आई केयरको प्राविधिक सहकार्यमा निःशुल्क मोतिबिन्दु आँखा शिविरको समेत आयोजना गरिएको थियो। शिविरमा करिब २५० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो । उक्त कार्यक्रममा मार्मा थेरापिष्टका शालिका चित्रकारबाट सहभागिहरूको स्वास्थ्यका लागि निःशुल्क थेरापी सेवा समेत  प्रदान  गरिएको थियो। स्वास्थ्य जाँचका लागि आएका सहभागीहरूले यस्तो सुविधाले आफूहरूलाई धेरै फाइदा पुर्‍याएको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा  ललितपुर महानगरपालिका आर्थिक समिति संयोजक तथा वडा नं. २८ का वडा अध्यक्ष रविन्द्र महर्जन तथा मिस नेवा १४४३ सकिना महर्जन, मिस नेवा, ११४१ कृषा महर्जन, दिल  कुमार महर्जन लगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले सहकारीले गर्दै आएका यस्ता कार्यक्रमहरूले महिलाहरूलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउन मद्दत पुग्ने तथा सहकारीले नियमित रूपमा  सदस्य केन्द्रित कार्यक्रम संचालन गर्दै आएकोमा खुशी व्यक्त गरे ।  सहकारीको यस किसिमको सक्रियताप्रति  उनीहरुले प्रशंसा  गरे।  नयाँ किरण सहकारीका सचिव अष्टनारायण डंगोलले सपनतिर्थको महिमा बारे सहभागिहरुलाई जानकारी गराएका थिए ।  सहकारीका अध्यक्ष लक्ष्मण महर्जनले यस्तो धार्मिक भ्रमण कार्यक्रमले सहकारीका महिला सदस्यहरू र समुदायका ज्येष्ठ नागरिकहरूलाई मानसिक शान्ति प्रदान गर्नुका साथै आपसी सम्बन्ध सुधार्न  गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनले  सहकारीले महिला नेतृत्व विकासमा ठुलो भूमिका खेल्दै आएको र आगामी दिनमा थप यस्ता रचनात्मक तथा सेवामूलक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त  गरे ।  

471659260_915163507351422_4220399773776962494_n.jpg

कार्यक्रममा  फाइट फर लाइफ नेपालका अध्यक्ष हेमा मानन्धरले सहकारीसँग सहकार्य गरेर स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न पाउँदा आफू खुशी भएको  बताइन् । आगामी दिनमा पनि सहकारीसँगको सहकार्यलाई निरन्तरता दिँदै स्वास्थ्य शिविर र अन्य सेवामूलक कार्यक्रमहरू आयोजना गरिने जानकारी  उनले  दिइन् । सहकारीको महिला समितिको संयोजनमा भएको यस कार्यक्रममा महिला समितिकी संयोजक अञ्जु तण्डुकारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । उनले विशेषगरी महिला समूह, सहकारीका कर्मचारी, तथा सहभागिता जनाउने सम्पूर्ण सदस्यहरूको योगदानको प्रशंसा  गरिन्। कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक सुनिल महर्जनले गरेका थिए भने सचिव रुजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य  राखेका थिए ।