राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी अभियानलाई मास्न ग्रान्ड डिजाइन भएको बताएकी छिन् । भक्तपुरको शंखधरचोकमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभाको प्रमुख अथितिको रुपमा बोल्दै उनले पछिल्लो समय भएका कतिपय व्यवस्थाले सहकारी क्षेत्रलाई मास्न कुनै पक्ष लागि परेको उल्लेख गरिन् ।
सहकारी मासियो भने हामी जस्ता सर्वसाधारणको पहुँच बैंकमा सहजै नपुग्ने र केही ठुला उद्योगी व्यवसायीले मात्रै ऋण पाउने हुँदा सामान्य मानिसको जिवनयापनमा समस्या पर्ने उनले बताइन् । सहकारी सामान्य जनताको अभियान भएको भन्दै उनले यो अभियानलाई जोगाउन सदस्यहरुको सक्रिय सहभागिता आवश्यक पर्ने बताइन् । सामान्य आर्थिक अवस्था भएकाहरुलाई बैंकबाट ऋण पाउनै नसकिने भन्दै थाम्सुहाङले सहकारीले सहज रुपमा ऋण दिएर जनताको आर्थिक सामाजिक रुपान्तरणमा सघाएको बताइन् । बैंक र सहकारीबीच धेरै अन्तर रहेको भन्दै बैकमा बचत गर्नेलाई साधारण सभामा बोलाई निर्णय प्रक्रियामा सहभागी नगराउने तर सहकारीले सदस्यहरुलाई साधारण सभामा उपस्थिति गराएर बार्षिक नीति तथा कार्यक्रम पारित गर्ने, जेष्ठ सदस्यलाई सम्मान गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने एंव सदस्यको जन्मदेखि मृत्युसम्म नै सघाउने बताइन् । सरकारले हालै ल्याएको अध्यादेशले सहकारी क्षेत्रलाई संकुचन गर्न खोजेको भन्दै प्रतिस्थापन विधेयक मार्फत ति व्यवस्था संशोधन गर्न लागि पर्ने उनले जानकारी दिइन् ।
उनले भनिन्,‘ अध्यादेशमा आएका जुन जुन बुँदाले समस्या बनाएको छ । ति कुरामा सुधार गर्न र अध्यादेशमा नमिलेका कुरा मिलाउन महासंघले पहल गर्छ ।’ ७३ लाख सदस्य आवद्ध रहेको सहकारी क्षेत्र ऐक्यवद्धताका साथ जाने हो भने सरकार नै डराउने उनको तर्क छ । सहकारी अभियानको तर्फबाट फरक फरक मत लिएर जाँदा सरकारले खेल्न पाएको भन्दै उनले महासंघ मार्फत अभियानको साझा धारणा बनाउन आवश्यक रहेको बताइन् । केही गलत मनासयले सञ्चालन भएका सहकारीका कारण यो परिस्थिती आएको र यसबाट नडराई चुनौतीलाई अवसरको रुपमा लिन उनको आग्रह छ । सहकारीका विषयमा घरपरिवारदेखि, चिया पसल र संसदसम्म हलचल आएको भन्दै महाप्रबन्धक थाम्सुहाङले यसले सहकारी क्षेत्रलाई शुद्धिकरण गर्न मद्दत गर्ने बताइन् । सहकारी विभाग, मन्त्रालय वा सरकारी उच्च पदस्थहरुलाई भेट्न जाँदा आफुले भक्तपुरको सहकारी अभियानको उदाहरण दिने गरेको र यहाँबाट धेरै कुरा सिक्न सक्ने भनेको उनले बताइन् । बालकुमारी सहकारी संस्थाले समुदाय र सदस्यलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय कारोबार गरेका कारण यस क्षेत्रको उत्कृष्ट संस्था बन्न सफल भएको बताइन् ।
संस्थाले सदस्यहरुलाई विभिन्न विधामा सम्मान गर्नुले संस्था सदस्यप्रति समर्पित भएको प्रमाणित गरेको उल्लेख गरिन् । संस्था समुदायमा परिचित भइसकेकाले संस्थाको छविलाई कायम राख्दै आगामी दिनमा अगाडि बढाउन सञ्चालकहरुको भूमिका महत्वपूर्ण हुने उनले बताइन् । संस्थाले बर्ष भरी के के कार्यक्रम गर्यो र यस आर्थिक बर्षमा के कस्ता कार्यक्रम गर्ने भनेर छलफल गर्ने थलो साधारण सभा भएकाले सदस्यको सक्रिय सहभागिता आवश्यक पर्ने उनको भनाई छ । समुदायले स्वीकार गरेको र सामाजिक गतिविधी गर्ने मात्र वास्तविक सहकारी भएको उनको बुझाई छ । संस्थालाई अझ अगाडि बढाउन सदस्यको भूमिका महत्वपूर्ण हुने भएकाले सहकारीमा विश्वास गरेर बचत ऋणको कारोबारसँगै सबै गतिविधीमा सहभागी जनाउन उनले आग्रह गरिन् । सहकारीका सात सिद्धान्त दुई सिद्धान्त मध्ये जनप्रवर्दन तथा समुदायको संलग्नता भन्ने परिमार्जन भएकाले यो हुन सके मात्र सहकारी अगाडि बढ्ने थाम्सुहाङले बताइन् ।
नेपालपत्र संवाददाता